नेपाल संस्करण: २६ साउन २०८३ | समय: १७:०२ NST

भारतमा स्वाइन फ्लु बढ्यो, दिल्लीसहित ६ राज्यमा सतर्कता

काठमाडौं । भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको संक्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन्।
दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ संक्रमित भेटिएका छन्, जसमध्ये १ हजार ७ सय ७७ जनामा एच१एन१ संक्रमण पुष्टि भएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ।
दिल्लीमा पछिल्लो समय स्वाइन फ्लुका संक्रमितको संख्या तीव्र रूपमा बढेपछि स्वास्थ्य विभागले अस्पतालहरूलाई तयारी अवस्थामा रहन तथा संक्रमणको नियमित निगरानी गर्न निर्देशन दिएको छ। बिहीबार मात्रै दिल्लीमा १ सय १४ जना नयाँ एच१एन१ संक्रमित थपिएका थिए।
दिल्लीबाहेक उत्तर प्रदेशमा ३ सय ३७, हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जना एच१एन१ संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। संक्रमण बढेपछि सम्बन्धित राज्यहरूले स्वास्थ्य सतर्कता र निगरानी बढाएका छन्।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)का अनुसार अहिले फैलिरहेको एच१एन१ कुनै नयाँ भेरियन्ट भने होइन। स्वास्थ्य अधिकारीहरूले संक्रमणको अवस्था निरन्तर निगरानीमा रहेको बताएका छन्।
स्वाइन फ्लुका सामान्य लक्षणमा ज्वरो, खोकी, घाँटी दुख्ने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, शरीर दुख्ने र अत्यधिक थकान देखिन सक्छ। लक्षण लामो समयसम्म रहिरहेमा चिकित्सकको सल्लाह लिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
स्वास्थ्य अधिकारीहरूले भीडभाड भएका स्थानमा मास्क प्रयोग गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा मुख र नाक छोप्ने, साबुनपानीले हात नियमित धुने तथा संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्न सुझाव दिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले पनि दिल्लीको स्वास्थ्य अवस्थाबारे समीक्षा गर्दै अस्पतालको तयारी, औषधि तथा उपचार सेवाको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएका छन्।