13:01:45 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

एसिया कपमा नेपालको स्थान सुरक्षित, यूएईलाई हराउँदै प्रिमियर कप च्याम्पियन

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष आयोजना हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ।

शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २६९ रनमा सीमित भयो।

यूएईका लागि ललित चोपडाले शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले १०५ बलमा ३ चौका र ४ छक्कासहित १०० रन बनाए। यस्तै सोहेब खानले ५७ बलमा ५२, तानिश सुरीले २८ बलमा ४२ तथा कप्तान हरप्रित सिंहले ४१ बलमा ३३ रन बनाए।

नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल र गुल्सन झाले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१३ रन बनाएको थियो। नेपालको विशाल योगफलमा आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतक महत्वपूर्ण रह्यो।

आशिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्सन झाले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रन जोडे।

नेपालका अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौकासहित ४३ रन बनाए। रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ तथा बसिर अहमदले १५ रनको योगदान दिए।

यूएईका इब्रार अहमदले ४ विकेट लिए भने खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले १/१ विकेट लिए।

प्रिमियर कपको उपाधिसँगै नेपालले आगामी वर्ष हुने एसिया कपमा सहभागिता निश्चित गरेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal