
ललितपुर, ४ साउन। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा प्रमुख तीन दल मिलेर सरकार बनाउने प्रस्ताव आएको खुलासा गर्दै कांग्रेसले त्यस्तो प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पारेका छन्। ललितपुरमा आज आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र (वा अन्य कम्युनिस्ट पार्टी) मिलेर प्रदेशहरूमा सरकार गठन गर्ने प्रस्ताव आएतर्फ सङ्केत गर्दै उनले यो नागरिकको जनमतविपरीत हुने टिप्पणी गरे।
”अहिले तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव आइरहेको छ। तर हामीले भन्यौं यो गलत हो, यसो गर्नु हुँदैन। यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ,” सभापति थापाले भने।
प्रतिपक्षविहीन प्रदेश सभाको खतरा
सभापति थापाले प्रमुख दलहरू सबै सरकारमा सहभागी हुनु भनेको प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउनु रहेको तर्क गरे। संसद् र प्रदेश सभामा बलियो प्रतिपक्षको भूमिका हुनुपर्नेमा जोड दिँदै उनले सत्ताकै लागि मात्र राजनीति गर्न नहुने बताए।
बागमती प्रदेश सरकारको भविष्यबारे कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, बागमती सरकार के हुन्छ भनेर साथीहरूले यहाँ सोध्नुभएको छ, कांग्रेस सिद्धान्तमा सम्झौता गर्दैन।
विगतका राजनीतिक समीकरणप्रति आत्मसमीक्षा गर्दै थापाले सत्ता केन्द्रित राजनीतिका कारण जनतामा निराशा पैदा भएको स्वीकार गरे। “त्यसो गर्दा सरकारमा बस्न कांग्रेसलाई प्राप्त होला, तर त्यो सरकारमा बस्नैपर्छ र सत्ता नै सबैकुरा भन्ने सोचले हामीलाई २०७२ सालदेखि कहाँ पुर्यायो?,” उनले प्रश्न गरे। एउटा दलसँग मिलेर चुनाव लड्ने र अर्कोसँग मिलेर सत्ता बनाउने प्रवृत्ति गलत छ।
को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै छुट्याउन नसकिने अवस्था सिर्जना भएको छ।
सत्तालाई मात्र केन्द्रमा राख्दा छिटो-छिटो सरकार बन्ने र भत्कने शृङ्खला चलिरहेको छ।अहिलेको नेपाली कांग्रेसले आफ्नो सोच र प्राथमिकता बदल्न खोजेको दाबी गर्दै उनले पार्टी अब सत्ताको छिनाझपटी भन्दा पनि सिद्धान्त र नागरिकको म्यान्डेट अनुसार अघि बढ्ने स्पष्ट पारे।