15:15:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका खेलाडी सहभागी हुँदै


काठमाडौं। नेपाल सोतो कान कराते डो संघ (SKDUN) अन्तर्गतका कराते खेलाडीहरूको टोली थाइल्याण्डमा आयोजना हुन लागेको थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२६ मा सहभागी हुने भएको छ। प्रतियोगिता फेब्रुअरी १५, २०२६ मा थाइल्याण्डको राजधानी बैंककमा सञ्चालन हुने तय भएको छ।


प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक (कोच) तथा रेफ्रीलाई विदाइ गर्न संघले माघ २६ गते गोकर्णेश्वर नगरपालिका–८, जोरपाटीस्थित इन होटल, काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको थियो।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल उज्यालो पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले खेल क्षेत्र राष्ट्रको पहिचानसँग जोडिएको बताउँदै खेलाडीहरूलाई शुभकामना दिएका थिए। उनले भने, “खेल राष्ट्रको पहिचान हो, खेलाडीहरू राष्ट्रिय गहना हुन्।”


उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न जान लागेका खेलाडीहरूलाई सफलताको कामना गर्दै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे।

नेपाल सोतो कान कराते डो संघका पदाधिकारीहरूले यो प्रतियोगिताले नेपाली कराते खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने बताएका छन्। संघका अनुसार छनोट प्रक्रिया पूरा गरी उत्कृष्ट खेलाडीहरूलाई प्रतियोगितामा पठाइएको हो।


प्रतियोगितामा सहभागी नेपाली टोलीमा चित्र प्रसाद श्रेष्ठ कोच, अंकध्वज परियार रेफ्री र खेलाडीहरू बिबेक दुलाल, जानुका देवी मगर, निमा तामाङ, सुशील लामा, सुदर्शन बंजारा, फुर्वा गल्जेन शेर्पा, मिङमार तामाङ, रामनारायण श्रेष्ठ र बिबेन्द्र तामाङ गरि जम्मा ११ जनाको टोलि रहेको छ।


संघका अनुसार टोलीले विभिन्न तौल समूह र विधामा प्रतिस्पर्धा गर्नेछ। प्रशिक्षकहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको तयारी गराइएको जानकारी दिएका छन्। कार्यक्रममा बोल्दै संघका प्रतिनिधिहरूले यस्ता प्रतियोगिताले नेपाली खेलाडीको आत्मविश्वास बढाउनुका साथै देशको खेल प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उकास्ने विश्वास व्यक्त गरे। नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर देशको नाम उँचो बनाउने अपेक्षा गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal