16:55:56 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, संकटमा सरकार

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापामगर नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा सरकारको नेतृत्वमा पुगेका थिए।

मुख्यमन्त्री नियुक्त हुँदा उनलाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य तथा प्रदेशसभा सदस्यबाट कारबाही गरेपछि र अन्य तीन सांसदलाई समेत कारबाही प्रक्रिया अघि बढाएपछि सरकारको समीकरण कमजोर बनेको छ।

हाल मुख्यमन्त्रीको पक्षमा नेकपा एमालेका २५ र नेपाली कम्युनिष्ट पार्टीका २६ गरी ५१ सांसद मात्र देखिएका छन्। त्यसमाथि राप्रपाले विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले छलफल गर्ने कार्यसूची छ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ। ११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन्। मुख्यमन्त्रीले बहुमतका लागि कम्तीमा ५३ मत जुटाउनुपर्नेछ।

प्रदेशसभा सभामुखविहीन रहेकाले उपसभामुख अप्सरा चापागाईंले संविधानको धारा १८६ अनुसार बैठकको अध्यक्षता गरिरहेकी छन्। अध्यक्षता गरिरहेकी उपसभामुखले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्रीका लागि आवश्यक मत जुटाउन थप चुनौती देखिएको छ।

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिष्ट पार्टीका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

एमालेले समर्थन फिर्ता लिएपछि अघिल्लो सरकारमा हाम्रो नेपाली पार्टीबाट एक सदस्य मन्त्री बनेको भए पनि अहिले उक्त दलले पनि सरकारलाई समर्थन नगर्ने सम्भावना छ। सरकार गठनको प्रक्रियामा सहभागी नहुने बताउँदै आएको नेपाल मजदुर किसान पार्टीको तटस्थ भूमिकाले पनि मुख्यमन्त्री थापामगरको विश्वासको मत परीक्षणलाई थप रोचक बनाएको छ।

राप्रपा र कांग्रेसको ह्विपका कारण मुख्यमन्त्रीलाई सुरुआतमा प्राप्त ६३ सांसदको समर्थनमध्ये सबै मत कायम नरहने भएपछि आजको मतदानबाट बागमती सरकारको भविष्य तय हुने भएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal