15:15:22 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

रसुवा बाढी: तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह, सबै हेलिकप्टर स्ट्यान्डबाइ

काठमाडौं। चीनको तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानी नेपाल प्रवेश गरेपछि रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। सम्भावित उद्धारका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आवश्यकताअनुसार तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको उनले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति पठाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

त्यसैगरी, प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टोली, स्काउट, रेडक्रसलगायतका निकायसँग समन्वय गरिरहेको जनाइएको छ।

प्रधानमन्त्री शाहका अनुसार तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। प्रभावित क्षेत्रका नागरिकलाई एसएमएस तथा फोनमार्फत समेत सुरक्षित स्थानमा जान सचेत गराइएको उनले बताएका छन्।

बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानी अचानक नेपाल प्रवेश गरेपछि रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको हो। बाढीका कारण त्रिशूली नदीको जलस्तर तीव्र रूपमा बढेपछि यसको प्रभाव नुवाकोटसम्म पुगेको छ।

अचानक नदीको बहाव बढेपछि बाढी पूर्वानुमान महाशाखाले रसुवादेखि नुवाकोट हुँदै मुग्लिनसम्म त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

रसुवा जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीबाट टिमुरे क्षेत्रका केही बस्ती प्रभावित भएका छन्। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, तिब्बतको उच्च हिमाली क्षेत्रमा जलवायु, वर्षा, हिमनदी तथा जमिनमुनिको बरफमा भइरहेको परिवर्तनले नेपालतर्फ बग्ने नदीहरूमा जोखिम बढाउन सक्ने विषयमा पनि ध्यान दिनुपर्ने देखिएको छ। हालै चिनियाँ अनुसन्धानकर्ताले छिङहाई–तिब्बत पठारमा १ लाख ३० हजारभन्दा बढी रक ग्लेसियर पहिचान गरेका छन्।

रक ग्लेसियर बरफ, चट्टान र माटोको मिश्रणबाट बनेका अत्यन्तै बिस्तारै सर्ने भू–आकृति हुन्। अनुसन्धानअनुसार यस्ता संरचनामा ठूलो मात्रामा बरफ तथा पानी सञ्चित रहेको अनुमान गरिएको छ। तापक्रम, वर्षा वा अन्य भौगोलिक अवस्थाका कारण यिनमा परिवर्तन आएमा नदीको बहावमा असर पर्न सक्ने तथा कतिपय अवस्थामा अचानक पानीको मात्रा बढ्न सक्ने जोखिम रहने विज्ञहरूको भनाइ छ।

यद्यपि रसुवामा आएको पछिल्लो बाढी र रक ग्लेसियरबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन। अहिलेको प्राथमिकता भनेको प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा, नदीको जलस्तरको निरन्तर निगरानी तथा सम्भावित उद्धारका लागि आवश्यक सबै संयन्त्रलाई तयारी अवस्थामा राख्नु रहेको अधिकारीहरूले बताएका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal