15:26:19 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

विश्वकप छनोटको अन्तिम आशा प्लेअफ, नेपाल अझै दौडमा

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि अन्तिम छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको आयोजना स्थल भने अझै तय गरिएको छैन।

यसपटक विश्वकप छनोटको ढाँचामा परिवर्तन गरिएको छ। १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेता टोली सीधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा पुग्नेछ। दोस्रो, तेस्रो र चौथो हुने टोलीले ‘सुपर सिरिज’ खेल्नुपर्नेछ, जहाँ शीर्ष स्थान हासिल गर्ने एक टोलीले मात्र मुख्य विश्वकपमा स्थान बनाउनेछ।

मुख्य विश्वकप भने २०२७ अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ।

नेपालका लागि भने लिग–२ को पछिल्लो प्रदर्शनपछि शीर्ष चारमा परेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक सिरिजमा नामिबिया र घरेलु टोलीसँग लगातार चार खेल हार्दा नेपालको यात्रा थप कठिन बनेको हो।

हालसम्म ३२ खेल खेलेको नेपाल ११ जित, १९ हार र २ खेल नतिजाविहीनसहित २४ अंकका साथ छैटौं स्थानमा छ। अब नेपालले ओमानमा ओमान र क्यानडाविरुद्ध अन्तिम चार खेल खेल्न बाँकी छ। यद्यपि, बाँकी सबै खेल जिते पनि शीर्ष चारमा पुग्ने सम्भावना अत्यन्त न्यून छ।

यद्यपि, नेपालको विश्वकप यात्राको ढोका पूर्ण रूपमा बन्द भएको छैन। लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका शीर्ष चार टोलीबीच हुने विश्वकप छनोट प्लेअफमा उत्कृष्ट चारभित्र पर्न सके नेपालले आफ्नो एकदिवसीय मान्यता कायम राख्दै मुख्य विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछ।

हालको अवस्थामा प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई तथा च्यालेन्ज लिगबाट जर्सी, कुवेत, युगान्डा र इटाली रहने सम्भावना छ।नेपालका लागि अब ओमान र क्यानडाविरुद्धका बाँकी खेल केवल अंकका लागि मात्र होइन, आगामी प्लेअफको तयारीका रूपमा पनि महत्वपूर्ण हुनेछन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal