
काठमाडौँ। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज देशभर आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ।‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनको सम्झनामा हरेक वर्ष मंसिर ११ मा यो दिवस मनाइँदै आएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोह आयोजना हुँदैछ। नेपालको संविधानले प्रत्याभूत गरेको सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारकै नेतृत्वमा २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा सुरु गरिएको थियो।
श्रमिकको नियमित योगदानमा आधारित सामाजिक सुरक्षा सुनिश्चित गर्दै जोखिम न्यूनिकरण, श्रमिक–परिवारको संरक्षण र सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिन कोषले सञ्चालन गरेका कार्यक्रम अघि बढाइएका छन्। योजनाको कार्यान्वयनले संविधानमा उल्लेखित सामाजिक सुरक्षाको अधिकार संस्थागत रूपमा सुनिश्चित हुँदै गएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए।
कोषले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँगै वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्रमा संलग्न तथा स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आएको छ। बुधबारसम्म योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध हुनेहरूको सङ्ख्या साढे २६ लाख पुगेको कोषले जनाएको छ। त्यसमा औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक छन्।
कोषले श्रमिक र उनीहरूका परिवारका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना–अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। यी योजनामार्फत श्रमिकले विभिन्न सेवा–सुविधा पाउँदै आएका छन्।
हालसम्म कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान संकलन भएको छ भने दुई लाख ५३ हजार १४३ श्रमिकले विभिन्न सुविधाबापत १७ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको कोषले जनाएको छ। साथै, योगदानकर्ताले स्वास्थ्य तथा विमा सुविधा बाहेक बचतमा ब्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत पनि पाउँदै आएका छन्।