14:37:03 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

विपद् व्यवस्थापनका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न विपद्को अवस्था सम्बोधन गर्न सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको छ।

बुधबार बसेको सर्वदलीय बैठकले विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गरेको हो।

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सात दिनभित्र संयन्त्र गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए।

‘अबको सात दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ । संसदीय समिति छानबिन गर्ने कुरा पनि भएको छ,’ शाहीले सञ्चारकर्मीसँग भने।

उनका अनुसार बैठकमा ‘सनसेट ल’ लागू गर्ने विषयमा समेत छलफल भएको थियो।

रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि त्यसको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए।

लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए।

बैठकमा लामिछानेले उद्धार र राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सहयोग गर्न सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका थिए।

उनको प्रस्तावमा सहभागी दलहरूले सहमति जनाउँदै १० बुँदे संकल्प जारी गरेका थिए। संकल्पको १०औँ बुँदामा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने उल्लेख थियो।

त्यस्तो संयन्त्रले संकटको समयमा उद्धार तथा राहतमा सहजीकरण गर्नुका साथै विपद्पूर्व तयारी, दिगो विकास र नीतिगत सुधारका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न भूमिका खेल्ने बताइएको थियो।

यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो। तर, त्यसलाई औपचारिक रूपमा गठन गर्न सकिएको थिएन।बुधबारको बैठकले भने संयन्त्र गठनका लागि सात दिनको समयसीमा नै तोकेको हो।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal