14:29:13 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

राष्ट्र बचाउनकै लागि एकता गरिएको हो, चुनाव जित्नका लागि होइन: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको उद्देश्य तत्कालीन चुनावी फाइदा नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन्।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान पार्टीलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गर्ने कार्यक्रममा बोल्दै उनले सुगौली सन्धिपछि जस्तो ठुलो संकट अहिले देशमा आएको बताएका छन्।


प्रचण्डले भने, “इतिहासमा यति ठूलो संकट सायद कहिल्यै आएको थिएन। सुगौली सन्धिपछिको जस्तो असाधारण अवस्था अहिले छ। त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन, राष्ट्र बचाउनका लागि गरिएको हो।”
उनका अनुसार हालको राजनीतिक परिस्थितिमा युवापुस्ताको चेतना र जेन–जी आन्दोलनले परिवर्तनका लागि दिएको धक्का नै एकता प्रक्रियालाई तीव्र बनाउने कारण बनेको हो।यसै अवसरमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता गर्न सजिलो भए पनि त्यसलाई बलियो बनाउन गाह्रो रहेको बताए।

उनले भने, “२०७५ साल जेठ ३ गते दुई पार्टी मिलेर नेकपा बनेको थियो। त्यसअघि २०७४ को चुनावमा जनताले लगभग दुई तिहाइ मत दिएर कम्युनिस्ट एकताप्रतिको संकेत दिएका थिए। अहिले पनि त्यो विश्वास जोगाउन, गल्ती सुधार्न र नयाँ क्रान्तिकारी आचरण बोकेको पार्टी बनाउन हामी जुटेका छौं।”


नेपालले विगतका कमजोरी स्वीकार्दै सुधारको सङ्कल्प गर्न आग्रह गरे। “कमजोरी छन् भने सुधारौँ, सङ्कल्प गरेर व्यवहारमा देखाउनुभयो भने ठूलो योगदान हुनेछ,” उनले भने, “तर पुरानै गल्ती दोहोर्यायौँ भने यसको मूल्य रहने छैन।”कार्यक्रममा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले एमाले अध्यक्ष केपी ओलीले आफ्ना वरिष्ठ नेताहरूलाई पार्टी छाड्न दबाब दिएको दाबी गरे।

उनका अनुसार, “ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतलाई पार्टीबाट निकाल्ने प्रयास गरेका थिए।”


रावलले थपे, “मैले सुरुमा विश्वास गरेको थिइनँ, तर मसँगै हिँड्ने नेताहरूले ओलीको भनाइ सत्य हो भनेपछि सामूहिक निर्णयमा पुगेका थियौँ तर अधिवेशन आएपछि ओलीले मलाई चुप लाग, अघि नबोल भने।”


उनले सर्वोच्च अदालतबाट नेकपा विभाजनको आदेश गराउन ओलीकै हात रहेको आरोप पनि लगाए।

नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान पार्टी समायोजन कार्यक्रम

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal