15:12:36 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

फोहरबाट आम्दानीको उदाहरणीय अभ्यास: व्यास नगरपालिकाले पाँच महिनामै १० लाख बढी कमायो

दमौली (तनहुँ), — फोहरमैला व्यवस्थापनलाई चुनौती होइन, अवसरमा रूपान्तरण गर्दै व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्रीमार्फत पाँच महिनामै रु १० लाख ५९ हजार ७०४ आम्दानी गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म नगरपालिकाले पुनः प्रयोगयोग्य फोहर—जसमा प्लास्टिकका बोतल, आल्मुनियम, टिन, फलाम, कागज, गत्ता, किताब, कापी र सिसा—समावेश छन्—वर्गीकरण गरी बिक्री गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो।

नगरपालिकाले अब घर–घरबाटै फोहर कुहिने र नकुहिने गरी छुट्याएर सङ्कलन गर्दै आएको छ। कुहिने फोहर छुट्टै गाडीमा र नकुहिने फोहर छुट्टै गाडीमा सङ्कलन गर्ने व्यवस्था गरिएको छ, जसले व्यवस्थापनलाई प्रभावकारी बनाएको लम्सालले बताउनुभयो।

फोहरमैला व्यवस्थापन सुधारका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो। उहाँकै प्राविधिक सल्लाहअनुसार फोहर सेग्रीगेसन, कम्प्रेसन र बिक्रीको प्रणाली लागू गरिएको हो।

नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार, “नकुहिने फोहरभित्रका सिसा, प्लास्टिक र कागजजस्ता सामग्री छुट्याएर मेसिनबाट कम्प्रेस गरी बिक्री गर्दा नगरपालिकालाई आम्दानीको नयाँ स्रोत खुलेको छ।”

नगरपालिकाले टोल, वडा र विद्यालयस्तरमा पुगेर नागरिकलाई फोहर वर्गीकरणबारे सचेतना दिँदै आएको छ। हाल नगरपालिकाको कार्यालय परिसरमै नकुहिने फोहर छुट्याएर बिक्री भइरहेको छ।

३२ वर्षदेखि स्थायी समाधान हुन नसकेको फोहर समस्यालाई समाधान गर्ने दिशामा यो अभ्यास महत्वपूर्ण रहेको नगरप्रमुख न्यौपानेले उल्लेख गर्नुभयो। कुहिने फोहर भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग भइरहेको छ।

नगरपालिकाले हाल बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक ११ टन फोहर सङ्कलन गर्दै आएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal