
काठमाडौँ, १४ पुस — काठमाडौँ उपत्यकामा रातको समयमा सवारीसाधन व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ।
लायन्स क्लब अफ काठमाडौँ थलीले खरिद गरेको उक्त म्याजिक लाइट आज जिल्ला प्रशासन कार्यालयमा आयोजित विशेष कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पौडेलले लायन्स क्लबको सहयोगको प्रशंसा गर्दै म्याजिक लाइटले रातको समयमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
“राति ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। सवारी नदेखिँदा दुर्घटनाको जोखिम पनि बढेको छ। म्याजिक लाइटको प्रयोगले यस्तो समस्या न्यूनीकरण गर्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका भवन, संरचना तथा उपकरणमा पुगेको क्षतिबारे जानकारी दिनुभयो।
“पाँच मिनेट ट्राफिकविनाको चोकले नै सार्वजनिक जीवनमा कति ठूलो असर पार्छ भन्ने सबैले अनुमान गर्न सक्छौँ,” उहाँले भन्नुभयो। म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थपिएको उहाँको भनाइ थियो।
जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा ट्राफिक प्रहरीका पोसाकसहित ठूलो क्षति पुगेको उल्लेख गर्दै उहाँले दुःख व्यक्त गर्नुभयो। हाल नागरिक स्तरबाट पुनर्निर्माणका प्रयास सुरु भइसकेको र ट्राफिक व्यवस्थापनलाई नयाँ ढङ्गले अघि बढाइने पनि उहाँले बताउनुभयो।
यसै अवसरमा लायन्स क्लब अफ काठमाडौँ थलीका अध्यक्ष रुपक सिमखडाले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक व्यवस्थापन सुधारका लागि सहयोग गरिएको जनाउँदै यस्ता सहकार्य भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।