14:34:16 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

बागमती सरकार ६ मन्त्रीको सामूहिक राजीनामा: एमाले बाहिरियो

हेटौँडा। बागमती प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणको प्रभाव देखिन थालेको छ। सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत वर्तमान राजनीतिक परिस्थिति र पार्टीको निर्णयअनुसार सरकारमा रहेका सबै मन्त्रीले तत्काल प्रभावबाट पद त्याग गरेको जानकारी गराएका हुन्। पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

थपलियाले सरकारप्रतिको समर्थन पनि फिर्ता लिइएको पुष्टि गर्दै अब एमाले प्रतिपक्षको भूमिकामा रहने संकेत दिएका छन्।

राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, यातायात हेर्ने मन्त्री जयराम थापा, वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

यसअघि मन्त्रिपरिषद् बैठकपछि काठमाडौं फर्किएका मन्त्रीहरू मंगलबार राति विशेष रूपमा हेटौँडा पुगेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन स्पष्ट निर्देशन दिएको थियो।

साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त नेतृत्वमा सञ्चालन हुँदै आएको बागमती सरकार एमालेको समर्थन फिर्तासँगै अल्पमतमा परेको छ। अब संविधानअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार एमालेको यो निर्णयले बागमती प्रदेशको सत्ता समीकरण मात्र होइन, अन्य प्रदेशको राजनीतिक समीकरणमा पनि प्रभाव पार्न सक्ने देखिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal