
काठमाडौं । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ तीन दिनसम्मको छलफलपछि पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन।
शनिबारदेखि सोमबारसम्म काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा बसेको आवासीय बैठकले कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेपछि तीन सदस्यीय सानो कार्यदल गठन गरेको छ।
नयाँ कार्यदलमा मूल कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेल रहेका छन्। उनीहरूलाई आगामी असोज १ गते बस्ने बैठकमा पेस गर्ने गरी अन्तिम प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको छ।
बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन तथा संयोजक थापाले त्यसको प्रतिवादमा तयार पारेको छुट्टै प्रतिवेदनमाथि छलफल भएको थियो।
बैठकमा संयोजक थापाले कार्यदलको औचित्यमाथि नै प्रश्न उठाउँदै कार्यदलको काम अघि बढाउन असहज वातावरण सिर्जना गरेको एक सदस्यले बताए। उनका अनुसार थापा कार्यदल नै खारेज गर्नुपर्ने पक्षमा देखिएका थिए।
‘संयोजकले पटक–पटक कार्यदल नै ठीक भएन भन्ने धारणा राख्नुभयो। सबै सदस्यले आ–आफ्ना धारणा राखेका छन्। अब तीन सदस्यीय टोलीले छलफल गरेर असोज १ गतेको बैठकमा प्रस्ताव पेस गर्नेछ,’ ती सदस्यले भने।
छलफलका क्रममा थापाको प्रतिवेदनको बचाउमा थापा स्वयं र सचिवसमेत रहेका कार्यदल सदस्य महेश बस्नेत मात्रै दृढ रूपमा प्रस्तुत भएको स्रोतको दाबी छ।
कार्यदलका सदस्यहरूबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीको भूमिकालाई लिएर पनि मतभेद देखिएको बताइएको छ। थापाले कार्यदलको प्रतिवेदनलाई अध्यक्ष हटाउने प्रयासका रूपमा व्याख्या गरेको अन्य सदस्यहरूको भनाइ छ।
कार्यदलका एक सदस्यले भने, ‘हाम्रो उद्देश्य अध्यक्ष हटाउने नभई पार्टीलाई थप सशक्त बनाउने हो। तर संयोजकले यसलाई अध्यक्ष हटाउने प्रयासका रूपमा मात्रै व्याख्या गर्न खोज्नुभयो।’
कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार पार्टी अघि बढ्नुपर्ने ती सदस्यको भनाइ छ। उनका अनुसार नेतृत्व परिवर्तनको विषय भए पनि त्यसलाई पार्टीभित्र छलफल र सहमतिका आधारमा टुंग्याउनुपर्ने हुन्छ।
यसैबीच, अध्यक्ष ओलीले महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनर्लेखन गर्न चाहेको स्रोतको दाबी छ। ओलीको चाहनाअनुसार नै संयोजक थापाले अडान लिएको नेताहरूको बुझाइ छ।
यद्यपि, कार्यदलको काम अब थप लम्ब्याउन नहुनेमा बहुमत सदस्यहरू रहेको बताइएको छ। आवश्यक परे बहुमत–अल्पमतकै आधारमा भए पनि प्रतिवेदन तयार गरी पार्टीको आगामी बैठकमा पेस गर्ने तयारी गरिएको छ।
एमालेले असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। उक्त बैठकमा निर्वाचन समीक्षा, पार्टी पुनर्गठन तथा नेतृत्वसँग सम्बन्धित विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।