15:26:49 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

रूसले इरानलाई सुपरसोनिक क्रुज क्षेप्यास्त्र विकासमा गोप्य सहयोग गरेको दाबी

काठमाडौँ: रूसले इरानलाई उन्नत सुपरसोनिक (ध्वनीको गतिभन्दा तेज) क्रुज क्षेप्यास्त्र विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको दाबी गरिएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्स का अनुसार C430L कोडनेम दिइएको बहुवर्षीय गोप्य कार्यक्रममार्फत इरानलाई मध्यपूर्वमा अमेरिकी विमानवाहक जहाज तथा अन्य युद्धपोतलाई चुनौती दिन सक्ने नयाँ हतियार प्रविधि विकासमा सहयोग गरिएको हो।

प्रतिवेदनले यसलाई रूसबाट इरानमा भएको रणनीतिक सैन्य प्रविधिको अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण हस्तान्तरणमध्ये एक भनेको छ। कार्यक्रमअन्तर्गत रूसका अनुभवी क्षेप्यास्त्र विशेषज्ञहरूलाई इरानमा खटाइएको पनि दाबी गरिएको छ।

फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ मा सुरु भएको यो कार्यक्रम अमेरिका–इसराइल र इरानबीचको युद्धको अवधिसम्म जारी रहेको चुहिएका रूसी पत्राचार, यात्रा अभिलेख तथा सैन्य पेटेन्टहरूको विश्लेषणबाट खुलासा भएको हो।

र्यामजेट प्रविधि विकासमा केन्द्रित

कार्यक्रमको मुख्य उद्देश्य इरानलाई र्यामजेट प्रोपल्सन प्रणाली विकास गर्न सहयोग गर्नु रहेको बताइएको छ। र्यामजेट यस्तो इन्जिन हो, जसले क्रुज क्षेप्यास्त्रलाई ध्वनीको गतिभन्दा धेरै गुणा बढी गतिमा लामो दूरीसम्म उड्न सक्षम बनाउँछ।

क्षेप्यास्त्र तथा सैन्य विशेषज्ञहरूका अनुसार यो प्रविधि मुख्यतः जहाज-विरोधी (Anti-Ship) र भूमि-आक्रमण (Land-Attack) सुपरसोनिक क्रुज क्षेप्यास्त्र विकासका लागि लक्षित देखिन्छ।

बेलायतस्थित हतियार ट्र्याकिङ संस्था कनफ्लिक्ट आर्मामेन्ट रिसर्च का वरिष्ठ विश्लेषक फेबियन हिन्जले यसलाई “रूसबाट रणनीतिक रूपमा अत्यन्त संवेदनशील सैन्य प्रविधिको हस्तान्तरण” भन्दै इरानले दशकौँदेखि प्राप्त गर्न खोजिरहेको प्रविधि भएको बताएका छन्।

उनका अनुसार यस्तो कार्यक्रम सञ्चालन गर्न रूसको उच्च राजनीतिक तहबाट स्वीकृति आवश्यक पर्ने सम्भावना छ।

युद्धमा प्रयोग भएको प्रमाण छैन

सुपरसोनिक क्रुज क्षेप्यास्त्र कम उचाइमा अत्यधिक गतिमा उड्ने भएकाले आधुनिक हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई प्रतिक्रिया दिन निकै कम समय उपलब्ध हुन्छ। यही कारण खाडी क्षेत्रमा इरानका लागि यस्तो हतियार रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।

यद्यपि फाइनान्सियल टाइम्सले इरानले र्यामजेट प्रणालीको निर्माण तथा उडान परीक्षण गरिसकेको उल्लेख गरे पनि रूसको सहयोगमा विकसित भनिएको सुपरसोनिक क्रुज क्षेप्यास्त्र हालसम्म कुनै युद्धमा परिचालन गरिएको प्रमाण भेटिएको छैन।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal