
अस्टिन, अमेरिका। अमेरिकाको टेक्सासस्थित अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि छठ पर्व विशेष कार्यक्रमका साथ मनाउने भएका छन्। अस्टिन छठ पूजा समिति र ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) को संयुक्त आयोजनामा नोभेम्बर १४ देखि १६ तारिखसम्म तीन दिन छठ पूजा कार्यक्रम आयोजना गर्न लागिएको उपाध्यक्ष धिरेन्द्र यादवले बताए।
यादवका अनुसार नोभेम्बर १४ शनिबार खरना कार्यक्रमबाट छठ पूजाको औपचारिक सुरुवात हुनेछ। उक्त कार्यक्रम 1736 Tigs Trails, Leander, TX मा आयोजना गरिनेछ।
त्यसैगरी, नोभेम्बर १५ आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम तय गरिएको छ। उक्त दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म पूजा तथा धार्मिक अनुष्ठान सञ्चालन हुनेछ। अर्घ्य दिने कार्यक्रम 1251 Co Rd 138, Hutto, TX 78634 मा हुनेछ।
छठ पर्वको अन्तिम दिन नोभेम्बर १६ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै पूजा सम्पन्न हुनेछ। बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा पनि सोही स्थानमा भक्तजनहरूको सहभागिता रहनेछ।
आयोजक समितिले छठ पर्वमा सहभागी हुन अस्टिन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा परिवारजनलाई हार्दिक निमन्त्रणा पनि गरेको छ।

छठ पर्व सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। यस पर्वले धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक सद्भाव र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता र आत्मीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम स्थलसम्म पुग्न आयोजकले उपलब्ध गराएको पोस्टरमा रहेको QR कोड स्क्यान गरी बाटो पहिल्याउन सकिनेछ।
आयोजकले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सूर्यदेव र छठी माताको कृपा सबैको घरपरिवारमा रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।