काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप चर्किएको छ । मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेशसभाबाट लिने विश्वासको मतलाई लिएर राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यलाई विपरीत निर्देशनसहित ह्विप जारी गरेपछि विवाद सतहमा आएको हो।
राप्रपा बागमती प्रदेशसभाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेकी थिइन्। त्यसै दिन राप्रपा संसदीय दलका प्रमुख सचेतकका रूपमा डम्बर तामाङको नामबाट अर्को ह्विप जारी भयो।
डम्बर तामाङले जारी गरेको पत्रमा प्रदेशसभा बैठकमा अनिवार्य सहभागी भई मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
दुवै ह्विप दलको निर्णय र संसदीय दलको विधानअनुसार जारी गरिएको दाबी गरिएको छ । यससँगै राप्रपाका सांसदहरू एउटै विषयमा दुई समूहको फरक–फरक निर्देशनमा परेका छन्।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकार गठन हुनुअघि नै डम्बर तामाङलाई प्रमुख सचेतकबाट हटाएको दाबी गरिएको छ। यही कारण कुन पक्षको ह्विप आधिकारिक हो भन्ने प्रश्नसमेत उठेको छ।
बागमतीमा मुख्यमन्त्री थापालाई समर्थन गर्ने विषयमा राप्रपाभित्र यसअघि नै विवाद थियो। प्रदेश संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्रीलाई समर्थन गरिएको दाबी एक पक्षले गर्दै आएको छ भने राप्रपा केन्द्रीय नेतृत्वले उक्त समर्थन पार्टीको निर्णयविपरीत भएको बताउँदै आएको छ।
मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना सांसदलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल नेकपा एमालेले पनि अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । नेकपाका २६ र एमालेका २५ गरी सत्तापक्षसँग ५१ सांसद छन् । उपसभामुख अप्सरा चापागाईंले बराबरी भएको अवस्थामा मात्र निर्णायक मत दिन सक्ने भएकाले मुख्यमन्त्री थापाका लागि राप्रपाको समर्थन निर्णायक बनेको छ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३६, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। राप्रपा दुई समूहमा विभाजित देखिएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने वा नपाउने समीकरण थप अन्योलपूर्ण बनेको छ।
गणतन्त्रमा राजसंस्था पुनःस्थापनाको मुद्दा उठाउँदै आएको राप्रपा आफैं भने बागमती प्रदेशमा संसदीय दलको नेतृत्व र निर्णयको विषयमा दुई धारमा विभाजित भएपछि राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ। मुख्यमन्त्रीको विश्वासको मतका क्रममा राप्रपाका १२ सांसद कुन पक्षमा उभिन्छन् भन्ने विषयले प्रदेश सरकारको भविष्यसमेत प्रभावित पार्ने देखिएको छ।