14:37:31 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

रसुवाका केही क्षेत्रमा यात्रा नगर्न अमेरिकाको चेतावनी, नेपाललाई ‘लेभल–२’ मा राखियो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो यात्रा सुझाव (ट्राभल एडभाइजरी) परिमार्जन गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल–२ : बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। यद्यपि, बाढी तथा पहिरोबाट प्रभावित रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल–४ : यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ।

अमेरिकाले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा आसपास कुनै पनि कारणले यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।

हालै आएको ठूलो बाढी र पहिरोका कारण उक्त क्षेत्रमा व्यापक क्षति पुगेको, सडक तथा सञ्चार सेवा प्रभावित भएको र खोज, उद्धार तथा पुनःस्थापनाका काम अझै जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यात्रा सुझावमा प्रभावित क्षेत्रमा थप बाढी र पहिरोको जोखिमसमेत रहेको उल्लेख छ। भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीहरूमा समेत जोखिम रहेकाले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई सुझाव दिइएको छ।

अमेरिकाले नेपाली अधिकारीहरूले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशनको पालना गर्न पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ। हराइरहेका आफन्त वा व्यक्तिको खोजीका लागि भन्दै सर्वसाधारण तथा विदेशी नागरिकले आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्नसमेत चेतावनी दिइएको छ।

भूकम्प, बाढी र पहिरोको जोखिम

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई भूकम्प, बाढी र पहिरोको जोखिममा रहने मुलुकका रूपमा उल्लेख गरेको छ। भूकम्प पूर्वसूचनाबिना अचानक आउन सक्ने र त्यसबाट काठमाडौं उपत्यकासमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी र पहिरो आउन सक्ने तथा त्यसले सडक अवरुद्ध गर्नुका साथै भवन र पूर्वाधारमा क्षति पुर्‍याउन सक्ने अमेरिकी पक्षले जनाएको छ। यस्तो अवस्थामा उद्धार तथा आपत्कालीन सहायता प्राप्त गर्नसमेत कठिन हुन सक्ने उल्लेख गरिएको छ।

स्वास्थ्य सेवाबारे पनि सचेत गराइयो

यात्रा सुझावमा नेपालको स्वास्थ्य तथा आकस्मिक उपचार सेवाको क्षमता सीमित रहेको भन्दै अमेरिकी नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौंका अस्पताल अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि अस्पतालमा भीडभाड हुने, आवश्यक उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचार सुरु गर्नुअघि नै शुल्क मागिन सक्ने अवस्थाबारे पनि अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको छ।

विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था नरहेको भन्दै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमै बोक्न र यात्रा स्वास्थ्य बीमा गर्न सुझाव दिइएको छ।

नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकलाई स्थानीय सञ्चारमाध्यममार्फत तत्कालीन सूचना तथा विपद्सम्बन्धी समाचार नियमित रूपमा हेर्न र परिस्थितिअनुसार आफ्नो यात्रा योजना परिवर्तन गर्नसमेत अमेरिकी सरकारले आग्रह गरेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal