
मन्थली। रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणी घाटमा मंगलबार दिउँसो भएको दर्दनाक बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ। तामाकोशी नदीमा खसेको बसबाट हालसम्म १० जनाको शव निकालिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।
उनका अनुसार घटनास्थलबाट एक जना अचेत अवस्थामा उद्धार गरिएको छ भने अर्का एक घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दुर्घटनामा परेका मध्ये आठ जना गम्भीर घाइते रहेको बताए। गम्भीर घाइतेमध्ये तीन जनालाई धुलिखेल अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थलीबाट गुडिरहेको अवस्थामा त्रिवेणी घाट नजिकै सडकबाट अनियन्त्रित भई तामाकोशी नदीमा खसेको हाे। दुर्घटनामा बस चालक समेत घाइते भएका छन्।
घटनापछि तत्कालै जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल गुल्म रामेछाप र विपद् व्यवस्थापन बेस खुर्कोटबाट सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने अझै खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
यस दुर्घटनाले रामेछाप जिल्लालाई शोकमा डुबाएको छ भने मृतक र घाइतेका परिवारजनमा रुवाबासी चलेको छ।