
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र सिद्धान्तविहीन लोकप्रियतावाद (पपुलिज्म) ले लोकतन्त्र तथा समाजवादमाथि लगातार आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालमा आधारित ‘स्टन्ट’ राजनीति र सतही लोकप्रियतावादलाई अन्तर्राष्ट्रिय साम्राज्यवाद तथा भूराजनीतिक चलखेलको नेपाली संस्करणका रूपमा चित्रण गर्नुभयो। विचार, स्पष्ट राजनीतिक सिद्धान्त, इतिहास र विरासत नभएका शक्तिहरूले सोसल मिडियामा प्रचारात्मक फण्डा अपनाएर जनताको समर्थन जुटाउने प्रयास गरिरहेको भन्दै यसले लोकतान्त्रिक मूल्य र समाजवादी दिशालाई कमजोर बनाउने खतरा रहेको उहाँको भनाइ थियो।
प्रचण्डले भन्नुभयो, “विचार, राजनीति, सिद्धान्त र इतिहासभन्दा बाहिर गएर सोसल मिडियामा स्टन्ट गरेर मात्रै लोकप्रियता कमाउने प्रवृत्ति विश्वभर फैलाइएको छ। साम्राज्यवादले विभिन्न देशमा यसलाई प्रयोग गरेको छ, नेपालमा पनि त्यही प्रवृत्ति दोहोर्याएर लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने प्रयास भइरहेको छ। यो भूराजनीतिक चलखेलको हिस्सा हो।”
उहाँले नेकपालाई गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गका अधिकारका लागि संघर्षरत ‘नयाँ’ तथा वैज्ञानिक विचारधाराले निर्देशित शक्तिका रूपमा प्रस्तुत गर्नुभयो। ‘जेन–जी’ (Generation Z) आन्दोलनबाट उत्पन्न नयाँ राजनीतिक परिस्थिति सम्बोधन गर्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले वामपन्थी, समाजवादी र देशभक्त शक्तिहरूलाई एकताबद्ध गरेर २६ वटा साना–ठूला दल तथा समूहहरूको एकताबाट पार्टी निर्माण गरिएको बताउनुभयो। पार्टी एकता घोषणा २०८२ कात्तिकमा विभिन्न ८–१० दलबाट सुरु भई क्रमशः विस्तार हुँदै आएको सन्दर्भमा उक्त सङ्ख्या उल्लेख गरिएको उहाँले स्पष्ट पार्नुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रचण्डले निर्वाचन नै जनतामाझ जाने र युवाका माग सम्बोधन गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको जिकिर गर्नुभयो। नयाँ जनअनुमोदित प्रतिनिधिसभाले मात्रै राष्ट्रिय सङ्कटको सामना गर्न सक्ने दाबी गर्दै पार्टी ‘तारा’ चुनाव चिह्नसहित पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा उहाँले वाम एकताको महत्वलाई जोड दिँदै युवा पुस्ता र क्रान्तिकारी शक्तिहरूलाई समाजवादी संरचना निर्माणमा सक्रिय हुन आह्वान गर्नुभयो। प्रचण्डको यो सम्बोधनलाई निर्वाचन पूर्व राजनीतिक ध्रुवीकरण तीव्र बनाउने र नयाँ दलहरूविरुद्ध नेकपाको वैचारिक आक्रमणका रूपमा विश्लेषण गरिएको छ।