
नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भाषा साहित्य समितिको सहकार्यमा ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन कार्यक्रम’ सम्पन्न भएको छ।
एनआरएनएको २२औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा देश-विदेशका ५९ जना कविहरूले नेपाली, मातृभाषा तथा अङ्ग्रेजी भाषामा कविता वाचन गरेका थिए।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र विशिष्ट अतिथि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभयो। सो अवसरमा ‘नेपाली समाचार’ नामक राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशन समेत गरिएको थियो।
पत्रिकाका सम्पादकीय टिममा प्रधान सम्पादक दलबहादुर लिम्बू, सम्पादक अमित थेबे, कार्यकारी सम्पादक देवेन्द्र खापुङ लिम्बू, र अतिथि सम्पादकमा मोहन राई ‘परदेशी’ र गोमा राना रहेका छन्।
५९ कविहरूको सहभागीता
देवकोटा कक्षमा सम्पन्न वाचन कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला र जनक रसिकले क्रमशः नेपाली र डोट्याली भाषामा कविता वाचन गरे।
त्यसैगरी नेपाली भाषामा कविता वाचन गर्ने कविहरूमा डा. गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, बिमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी ‘धड्कन’, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, रश्मि थापा, सिर्जना सरोवर, जानकी गुरुङ, सुशीला राई, राधिका कल्पित, विजय हितान, शशी श्री आचार्य, रश्मि रिमाल, योगराज राजन, सुनिल आङ्बो, रविन्द्र आशिष, जाँयस जया, उत्तम तुम्सा, जमुना पौडेल, कर्ण दयाल, दिपा लक्सम र निरन्ती तुम्बापो लगायत थिए।
मातृभाषाका कविहरूले पनि कार्यक्रमलाई बहुरङ्गी बनाएका थिए। राजवंशी भाषामा अञ्जु राजवंशी, नेपालभाषामा ओमकृष्ण श्रेष्ठ, खस भाषामा जगत् वशिष्ठ, वाम्बुले भाषामा गणेश वाम्बुले राई र शिलाखा वाम्बुले राई, थामी भाषामा डम्बर थामी, याक्थुङ भाषामा निशेष आङ्देम्बे, बान्तावा भाषामा पदम बालाहाङ राई, शेर्पा भाषामा पेम्बा गेलु शेर्पा, डङ्गौरा थारुमा भूमिका थारु, खाम मगरमा राकेशबहादुर बुढा मगर, अवधीमा आलोक तिवारी, राना थारुमा शर्मिला राना थारु, सुनुवार भाषामा शोभा सुनुवार, तामाङ भाषामा रचना मोक्तान, मैथिलीमा स्नेहा झा, ढुट मगरमा मनु ठाडा मगर, भोजपुरीमा रितेश त्रिपाठी, चाम्लिङमा प्रगति राई, तमु भाषामा विमला गुरुङ, र थारू भाषामा प्रकृति थारूले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए। अङ्ग्रेजी भाषामा निरा श्रेष्ठले कविता वाचन गर्नुभएको थियो।
नेपाली मौलिकताको प्रतिबिम्ब : कुलपति राई
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले “नेपालका विविध भाषाको प्रतिनिधित्वसहितको वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिबिम्बित गरेको” बताउनुभयो। उहाँका अनुसार संसारभर छरिएका नेपालीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तार गरेर बहुभाषिक नेपाललाई अझ समृद्ध बनाइरहेका छन्। “अब प्रज्ञा–प्रतिष्ठान एकल भाषी संस्थान होइन, बहुभाषिक प्राज्ञिक केन्द्रको रूपमा अघि बढ्दैछ,” कुलपति राईले भन्नुभयो।
सहकार्य र भाषा–संस्कृति संरक्षणमा जोड
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै नेपाली भाषा र साहित्यको विकासमा थप योगदान दिन सकिने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा विभाग प्रमुख राजन मुकारुङले “नेपालका सबै समुदायका भाषालाई समान व्यवहार र संरक्षण राज्यको जिम्मेवारी हो” भन्दै धन्यवाद ज्ञापन गर्नुभयो।
एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपाली सन्तानलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै चेतावनी दिनुभयो —“यदि हामीले भाषा, संस्कृति र साहित्य जोगाउन सकेनौँ भने हाम्रो सभ्यता र इतिहास पनि हराउने खतरा छ।”
पूर्व महासचिव जानकी गुरुङले विदेशमा रहे पनि नेपालप्रतिको माया कहिल्यै घट्दैन भन्दै मातृभाषा शिक्षामा जोड दिनुभयो। महिला संयोजक रश्मीकाली थापाले पनि आफ्नो धारणा राख्दै मातृभाषा संरक्षणलाई अभियानको रूपमा अघि बढाउन आग्रह गर्नुभयो।
कार्यक्रमको समापन
कार्यक्रमको अध्यक्षता तथा समापन भाषण गर्दै एनआरएनए उपाध्यक्ष तथा भाषा–साहित्य समितिका संयोजक विश्वासदीप तिगेलाले भने —“हामी सधैं नेपालसँग मनमुटु जोड्दै भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि काम गर्दै आएका छौँ। बहुभाषिक सिर्जना वाचनले सबै भाषालाई समान स्वत्व दिने दिशामा महत्वपूर्ण योगदान पुर्याउँछ।”
कार्यक्रमको सञ्चालन एनआरएनए भाषा–साहित्य समितिका सदस्य तथा कथा–कवि अमित थेबेले गर्नुभएको थियो।