15:15:22 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

विशिष्ट पदाधिकारीद्वारा पृथ्वीजयन्तीको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौँ, २७ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।

सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

सोही समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानसहित पुष्पगुच्छा अपर्ण गर्नुभयो ।

समारोहमा मन्त्रीगण, राष्ट्रियसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, निजामती एवं जङ्गी सेवाका विशिष्ट श्रेणीका अधिकृतसहित आमसर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अपर्ण गरेको थियो ।

राष्ट्रिय पोसाकसहित राष्ट्रिय झण्डा र राष्ट्रनिर्माता शाहको तस्बिर अङ्कित ‘प्ले कार्ड’ बोकी भद्रकाली मन्दिरसहित सहरका विभिन्न स्थानबाट बाजागाजाका साथ निस्केको जुलुस सालिकमा पुगी समारोहमा परिणत भएपछि सम्मान अर्पण कार्यक्रम सुरु भएको हो ।

आमसर्वसाधारणका तर्फबाट राष्ट्र निर्माताप्रति सम्मानसहित पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम अहिले पनि जारी छ ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal