
म्याग्दी: ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उखानले धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाको विकटता झल्काउँछ। हालसम्म दुर्गम बस्तीका रूपमा चिनिँदै आएको गुर्जालाई चालु आर्थिक वर्षभित्र सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना कार्यान्वयन अघि बढाएको छ।
लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत चालु आर्थिक वर्षमा करिब चार किलोमिटर सडक ट्र्याक खोल्ने काम भइरहेको धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो। “आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको लुलाङ–गुर्जा सडक गाउँपालिकाको गौरवको प्राथमिकता प्राप्त योजना हो,” उहाँले भन्नुभयो, “यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको संयुक्त लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक खुलिसकेको छ।”
चालु आर्थिक वर्षमा रु १ करोड ७० लाख बजेट विनियोजन गरिएको योजनाअन्तर्गत लुलु कन्स्ट्रक्सनले भैसीमाने खाल्टादेखि झिरसोसम्म करिब एक किलोमिटर सडक मार्ग खोलिसकेको छ। यसका लागि रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको हो।
थप चार किलोमिटर सडक खुलेपछि गुर्जा पूर्ण रूपमा यातायात सञ्जालमा जोडिने धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो। “दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न दिनभरि पैदल हिँड्नुपर्थ्यो,” उहाँले भन्नुभयो, “अहिले गाडी पुग्ने झिरसोबाट ३० मिनेट पैदलयात्रामा गुर्जा पुगिन्छ।” सडक सञ्चालन भएपछि गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना दुई घण्टा ३० मिनेटमा, बेनी पाँच घण्टामा र पोखरा करिब सात घण्टामा पुग्न सकिने उहाँको भनाइ छ।
सडक मार्गसँगै ग्यावियन, मेसिनरी तथा पर्खाल निर्माणका काम पनि भइरहेका छन्। चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु ३ करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ। साथै, सडक खण्डमा पर्ने लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकारले ठेक्का सम्झौता गरिसकेको छ।
अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीका छ स्थानीय तहका ४५ वडामध्ये हालसम्म सडक सुविधा नपुगेको एक मात्र वडा हो। दुई सय ६५ घरधुरी रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ रहेको छ। खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले यहाँ बस्ती बसालेको ऐतिहासिक पृष्ठभूमि छ।
सडक नहुँदा खच्चड, घोडा र भरियामार्फत सामग्री ढुवानी गर्नुपर्दा लागत महँगो पर्ने तथा बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो। सडक सुविधा पुगेपछि स्थानीय जीवनस्तर सहज हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो।