14:40:46 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

आन्दोलनको नयाँ मोडेलबारे महासंघ काठमाडौं शाखाको छलफल, मे तीनमा सशक्त उपस्थिति रहने प्रतिबद्धता

काठमाडौं। नेपाल पत्रकार महासंघ को केन्द्रीय आन्दोलन अन्तर्गत काठमाडौं शाखाले सरोकारवाला संघ संस्थासँग आगामी आन्दोलनको मोडेलबारे छलफल गरेको छ। शाखा कार्यालय सञ्चारग्राममा आयोजित कार्यक्रम शाखा अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा बोल्दै विभिन्न संगठनका प्रतिनिधिहरूले बदलिँदो परिस्थितिअनुसार आन्दोलनलाई प्रभावकारी, चरणबद्ध र सहभागीमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। छलफलमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार सूर्य सुवेदी, पूर्व अध्यक्ष इश्वरी वाग्ले, प्रेस युनियन काठमाडौंका अध्यक्ष महेश्वर गौतम, प्रेस चौतारी काठमाडौंका अध्यक्ष लक्ष्मण शर्मा, प्रेस सेन्टर काठमाडौंका अध्यक्ष राममणि घिमिरे ,फोनिज काठमाडौंका अध्यक्ष भिम लामा तथा पत्रकार गणेशप्रसाद बञ्जाडे लगायतले आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले सरकारी विज्ञापन नीतिको विरोधलाई अझ प्रभावकारी बनाउन संयुक्त मोर्चा, रचनात्मक दबाबमूलक कार्यक्रम तथा आमसञ्चारकर्मीको व्यापक सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले आन्दोलनलाई केवल विरोधमा सीमित नराखी संवाद, बहस र नीति सुधारतर्फ केन्द्रित गर्नुपर्ने धारणा पनि व्यक्त गरे।

छलफलमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले केन्द्रीय आन्दोलनलाई सशक्त बनाउन काठमाडौं शाखाले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। सो क्रममा आन्दोलनका विभिन्न चरण, कार्यक्रमको स्वरूप तथा समन्वयका उपायबारे ठोस सुझावहरू संकलन गरिएको जनाइएको छ।

यसैबीच, विभिन्न संगठनका अध्यक्षहरूले आगामी मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा सशक्त र एकताबद्ध उपस्थिति जनाउने प्रतिबद्धता व्यक्त गरेका छन। उनीहरूले प्रेस स्वतन्त्रता र अभिव्यक्ति अधिकारको रक्षा गर्न एकजुट भएर अघि बढ्ने स्पष्ट सन्देश दिएका छन।

महासंघ काठमाडौं शाखाले संकलित सुझावहरू केन्द्रीय समितिमा पठाइने र त्यसका आधारमा आन्दोलनको आगामी रणनीति तय गरिने जनाएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal