15:12:09 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा शुभकामना

काठमाडौं। अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) ले १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिक समुदायमा शुभकामना व्यक्त गर्दै श्रमिक अधिकार सुनिश्चित गर्न सरकारसँग ठोस कदम चाल्न आग्रह गरेको छ।

महासंघको केन्द्रीय समितिले जारी गरेको वक्तव्यमा सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा आठ घण्टा काम, आठ घण्टा विश्राम र आठ घण्टा मनोरञ्जनको माग गर्दै श्रमिकहरूले गरेको ऐतिहासिक आन्दोलनलाई स्मरण गरिएको छ। सो आन्दोलनको क्रममा बगाएको रगतबाट प्राप्त अधिकारहरूलाई जोगाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

वक्तव्यमा नेपालको श्रमिक आन्दोलन केवल आर्थिक मागमा सीमित नभई राजनीतिक परिवर्तनसँग जोडिएको उल्लेख छ। २००३ सालको विराटनगर जुट मिल हड्तालदेखि १० वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनसम्म श्रमिक वर्गले महत्वपूर्ण योगदान दिएको महासंघको दाबी छ।

महासंघले वर्तमान अवस्थामा श्रम बजारमा नयाँ प्रकारको संकट देखिएको उल्लेख गर्दै नवउदारवाद र डिजिटल अर्थतन्त्रका नाममा श्रमिकमाथि शोषण बढिरहेको आरोप लगाएको छ। गिग इकनोमी, अनलाइन प्लेटफर्म र आउटसोर्सिङमार्फत श्रमिकहरूलाई अधिकारविहीन बनाउने प्रयास भइरहेको पनि बताइएको छ।

त्यस्तै, प्रवासी श्रमिकहरूलाई केवल वैदेशिक मुद्रा आर्जनको साधनका रूपमा हेरिने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको श्रम अधिकारको ग्यारेन्टी गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

महासंघका मुख्य मागहरू:

• श्रम ऐनमा रहेका श्रमिक विरोधी प्रावधानहरू खारेज गर्नुपर्ने

• योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको पूर्ण कार्यान्वयन

• न्यूनतम पारिश्रमिकको वैज्ञानिक पुनरावलोकन

• गिग तथा डिजिटल क्षेत्रमा कार्यरत श्रमिकको कानुनी पहिचान र सुरक्षा सुनिश्चितता

महासंघले समस्याको समाधान सम्झौताबाट नभई संघर्षबाट हुने उल्लेख गर्दै श्रमिक एकतामा जोड दिएको छ। साथै, नवउदारवाद र कर्पोरेट वर्चस्वविरुद्ध संगठित संघर्ष आवश्यक रहेको बताइएको छ।

महासंघका अध्यक्ष जगत बहादुर सिम्खडाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा श्रमिक वर्गको मुक्ति र समाजवाद स्थापनाका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal