काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै विश्वका २१ जना पूर्वक्रिकेट कप्तानले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन्।पूर्वकप्तानहरूले इमरानलाई आवश्यक स्वास्थ्य उपचार तथा पर्याप्त चिकित्सा सुविधा उपलब्ध गराउन प्रधानमन्त्री शरीफसँग आग्रह गरेका छन् ।
‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरानलाई अस्पताल लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन दिएको आदेश कार्यान्वयन नभएको दाबी गरिएको छ । अदालतले मेडिकल बोर्डमा इमरानका निजी चिकित्सक तथा उनकी बहिनी डा. उज्मा खानलाई समेत सहभागी गराउन निर्देशन दिएको थियो । साथै, परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था पुनः सुरु गर्न पनि आदेश दिएको थियो
पूर्वकप्तानहरूले इमरानलाई अस्पतालमा केही घण्टामात्र राखिएको र अदालतको आदेशअनुसारको मेडिकल बोर्डबाट नभई सरकारले गठन गरेको टोलीबाट स्वास्थ्य परीक्षण गराइएको दाबी गरेका छन् । उक्त टोलीले इमरानलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गर्दै पुनः अदियाला जेल पठाएको उनीहरूको भनाइ छ।
प्रधानमन्त्री शरीफलाई पूर्वकप्तानहरूले पठाएको यो दोस्रो पत्र हो । यसअघि १४ फेब्रुअरीमा १४ पूर्वकप्तानले इमरानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेका थिए । त्यसबेला इमरानको परिवारले आँखाको समस्याका कारण उनको एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको र जेलमा उचित उपचार नपाएको दाबी गरेको थियो।
पत्रमा हस्ताक्षर गर्ने पूर्वकप्तानहरूमा माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रियरली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलेस्टर कुक, सुनील गावस्कर, ली जर्मन, एडम गिलक्रिस्ट, डेभिड गावर, किम ह्युजेस, नासिर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुना रणतुंगा, एन्ड्र्यु स्ट्रस, दिलीप भेङ्सरकर, स्टिभ व र जोन राइट छन्।