13:01:43 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

एसडिजी कार्यान्वयनमा तीव्रता दिन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न बाँकी रहेको समयलाई तीव्र कार्यान्वयनको अवधिका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकका वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु आपत्काल र बढ्दो ऋणको दबाबबीच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार खनालले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले निरन्तर गर्दै आएको प्रयासको प्रशंसा गरे ।

“पाँच वर्षमा जिडिआई विकासशील विश्वभर साझेदारी, स्रोत परिचालन, ज्ञान आदानप्रदान र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विस्तार भएको छ,” उनले भने ।

उनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकास वित्त, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्रमा जिडिआईले अघि सारेका प्राथमिकताले ‘ग्लोबल साउथ’ का धेरै महत्वपूर्ण आवश्यकतालाई सम्बोधन गर्ने बताए ।

नेपाल जिडिआईको ‘ग्रुप अफ फ्रेन्ड्स’ मा सहभागी भइसकेको उल्लेख गर्दै मन्त्री खनालले व्यावहारिक सहकार्य र दक्षिण–दक्षिण साझेदारीमा जिडिआईले दिएको जोडलाई नेपालले महत्व दिएको बताए ।

नेपालले आफ्ना विकासका आकाङ्क्षा अघि बढाइरहेको अवस्थामा गरिबी न्यूनीकरण, कृषि तथा खाद्य सुरक्षा, नवीकरणीय ऊर्जा, उत्थानशील पूर्वाधार, विपद् तयारी, डिजिटल रूपान्तरण र मानव स्रोत विकासका क्षेत्रमा जिडिआईमार्फत सहकार्यको महत्वपूर्ण सम्भावना रहेको उनको भनाइ थियो ।

उत्पादन क्षमता अभिवृद्धि, ज्ञान तथा प्रविधि हस्तान्तरण, सीप विकास र आफ्नै क्षमतामार्फत अवसर विस्तार गर्न सहयोग पुर्‍याउने सहकार्यलाई नेपालले प्राथमिकता दिएको पनि मन्त्री खनालले बताए ।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal