
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले गएराति सुरक्षा नियन्त्रणमा लिएको छ। सम्भावित आक्रमणको सुरक्षा जोखिम रहेको सूचनापछि उनलाई महाराजगन्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर सुरक्षा निगरानीमा राखेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जबरालाई निवासबाट कार्यालयमा ल्याएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई सम्भावित आक्रमणबाट जोगाउन सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको हो।
एसएसपी खड्काले पूर्व प्रधानन्यायाधीश जबराविरुद्ध कुनै उजुरी नपरेको स्पष्ट पारेका छन्। केही प्रहरी स्रोतले उनीविरुद्ध उजुरी परेको दाबी गरे पनि खड्काले त्यसलाई अस्वीकार गरेका हुन्।
खड्काका अनुसार ‘जेनजी’ युवाहरूबाट रातिको समयमा जबरामाथि आक्रमण हुनसक्ने सुरक्षा विश्लेषण गरिएको थियो। सोही सुरक्षा विश्लेषणका आधारमा उनलाई प्रहरी कार्यालयमा ल्याएर सुरक्षा प्रदान गरिएको उनले बताए।
उनले भने, “जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणपछि हामीले सुरक्षाका लागि प्रहरीकहाँ ल्याएका हौँ।”
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले पनि जबरालाई कुनै अभियोगमा पक्राउ नगरिएको दाबी गर्दै सुरक्षा चुनौती देखिएपछि सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको बताएका छन्।
पूर्व प्रधानन्यायाधीश जबरा नेपालको न्यायपालिकामा लामो समय नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति हुन्। उनले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।
तर, २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए। महाअभियोग प्रस्ताव लामो समयसम्म संसदीय प्रक्रियामा रहे पनि अन्ततः पारित हुन सकेन।
महाअभियोग प्रस्ताव दर्तापछि निलम्बनमा परेका जबरा भने त्यसपछि सर्वोच्च अदालतमा फर्किन पाएनन्। उनको कार्यकाल विवाद र न्यायिक सुधारका विषयमा उठेका प्रश्नका कारण चर्चामा रहँदै आएको थियो।
हाल भने उनलाई कुनै मुद्दा वा उजुरीका आधारमा नभई सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रहरी कार्यालयमा ल्याइएको प्रहरी अधिकारीहरूको भनाइ छ। प्रहरीले जबराको सुरक्षाका लागि गरिएको व्यवस्थाबारे थप विवरण सार्वजनिक गरेको छैन।