15:12:36 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

टीओबी समूहका तेन्जिन दावा लामाको नागरिकता र लागुऔषध प्रकरणमा थप अनुसन्धान हुँदै

काठमाडौं। टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकतामाथि अनुसन्धान अघि बढाएको प्रहरीले, नागरिकतामा बाबुका रूपमा उल्लेख भएका कृष्णबहादुर लामालाई समेत पहिचान गरी सोधपुछ गरेको छ।

तेन्जिनको नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा लेखिएको थियो, तर जब दुवैलाई ललितपुर प्रहरी परिसरमा आमनेसामने गराइयो, उनीहरूले एकअर्कालाई चिनेनन्। यसले तेन्जिनको नागरिकता नक्कली भएको आशंका बलियो बनेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, नागरिकता जारी गर्दा प्रयोग गरिएका पुराना अभिलेखहरू जेनजी आन्दोलनका बेला भएको आगजनीमा नष्ट भएकाले प्रमाण जुटाउन कठिनाइ भइरहेको छ। नागरिकता शंकास्पद ठहरिएपछि किर्ते र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

तेन्जिनको कोठाबाट गाँजा बरामद भएपछि अहिले उनलाई लागुऔषध ऐनअन्तर्गत पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।उनकै नेतृत्वमा रहेको टीओबी समूह गत असोजमा भएको जेनजी आन्दोलनमा उत्तेजनात्मक भूमिका खेलेको आरोप पनि प्रहरीले लगाएको छ। उक्त समूहका सदस्यहरूले “टीओबी” लेखिएको कालो ज्याकेट लगाएर बुलेट बाइक पड्काउँदै आन्दोलनमा सहभागी भएका थिए।

अनुसन्धानमा खुले अनुसार, यो समूह यसअघि दुर्गा प्रसाईंको तीनकुने आन्दोलनमा पनि प्रयोग भएको थियो। तेन्जिनले सो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले तेन्जिनबाट बरामद वाकिटकी (रेडियो सेट) पनि लाइसेन्सबिनै प्रयोग गरिएको पाएको छ। रेडियो सञ्चार नियमावली, २०४९ बमोजिम यस्तो सेट प्रयोग गर्न लाइसेन्स आवश्यक हुन्छ।

तेन्जिन पेसाले ट्याटु आर्टिस्ट हुन्। उनी हाल बौद्धमा बस्दै आएका छन् र आफूहरू बाइक राइडर समूह भएको, ‘टीओबी’ लेखिएको ज्याकेट तिब्बती संस्कृतिप्रति रुचिबाट लगाएको दाबी गरेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal