
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्दैछ। नेकपा (एकीकृत समाजवादी) सहितका नौ दलबीच आइतबार भएको एकता सहमतिको अनुमोदनका लागि बैठक बोलाइएको हो।

पछिल्लो सचिवालय बैठकका निर्णयहरूको अनुमोदन र ९ दलीय सहमतिको आधिकारिक टुंगो लगाएपछि बैठक समापन हुने माओवादी केन्द्रले जनाएको छ। “९ दलीय एकता सहमति र सचिवालयका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो। नेताहरूलाई बोल्ने समय दिइएको छैन,” माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए।

गजुरेलका अनुसार पार्टी एकताको औपचारिक घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको छ। आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ दलबीच संयुक्त रूपमा एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो। यसअघि माओवादीबाट अलग भएको गोपाल किराती समूह समेत पुनः माओवादी केन्द्रमा फर्किसकेको छ।