
काठमाडौं। नेकपा (माओवादी केन्द्र) र गाेपल किराँतीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चाबीच सहमति पत्र जारी गरिएको छ। देशको राजनीतिक दिशालाई सही मार्गमा लैजान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादी परिवर्तनको दिशामा अघि बढ्ने उद्देश्यसहित दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका हुन।
जारी सहमति पत्रमा विगतमा भएका वैचारिक, राजनीतिक र सांगठनिक गल्ती कमजोरीहरुको वस्तुनिष्ठ मूल्यांकन गरी त्यसको दस्तावेजीकरण गर्ने उल्लेख छ। त्यसका लागि जनस्तरबाटै एकता, संघर्ष, रूपान्तरण को प्रक्रिया अघि बढाइने बताइएको छ।
सहमति अनुसार, देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीद्वारा विकसित समाजवादी लोकतन्त्र र देशभक्त पहिचानसम्बन्धी विचारमा माओवादी केन्द्रभित्र व्यवस्थित छलफल हुने र पूर्ण जनवादका आधारमा निर्णय लिइने सहमति भएको छ।
उक्त सहमतिको कार्यान्वयनका लागि अध्यक्ष गोपाल किरातीको नेतृत्वमा रहेका मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने निर्णय गरिएको छ।
सहमति पत्रमा स्वदेश तथा विदेशमा रहेका नेपाली मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित, विस्थापित वर्ग, लिङ्ग, जातजाति, क्षेत्र तथा देशभक्त शक्तिहरूबीच समाजवादी ध्रुवीकरणलाई सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र सम्प्रभुताको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ।
नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गोपाल किरातीले संयुक्त रूपमा जारी गरेको उक्त सहमति पत्रमा संविधानमा उल्लेख समाजवाद उन्मुख राज्यव्यवस्थाको प्रभावकारी कार्यान्वयन र दलाल–नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गर्न सबैलाई आह्वान गरिएको छ।