
काठमाडौं। प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटवार्ता दिउँसो साढे २ बजे सिंहदरबारमा हुनेछ ।
चारदिने नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौं आएका हुन् । भ्रमणका क्रममा उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
सेठले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि द्विपक्षीय भेटवार्ता गरिसकेका छन् । भेटमा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा सुरक्षा सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउने सेठ अहिलेसम्मकै उच्च तहका अधिकारी हुन् । प्रधानमन्त्री शाहसँग हुने आजको भेटलाई नेपाल–भारत सम्बन्धका साथै दुई देशबीचको सुरक्षा तथा सैन्य सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
भारतीय स्थल सेना प्रमुख सेठले नेपालबाटै आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्नुलाई पनि कूटनीतिक तथा सैन्य सम्बन्धको दृष्टिले अर्थपूर्ण मानिएको छ । भ्रमणका क्रममा उनले नेपालका अन्य उच्च अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।