13:01:21 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

बाढीपहिरोले १,२९२ मेगावाटका जलविद्युत् आयोजना प्रभावित

काठमाडौं । असोज ९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा रहेका विद्युत् संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीपहिरोका कारण विभिन्न करिडोरमा रहेका कुल १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्।

नेपाल विद्युत् प्राधिकरणले सोमबार पत्रकार सम्मेलन गरी कुश्मा–दाना, त्रिशूली, मर्स्याङ्दी, सेती–मादी, कालीगण्डकी तथा समुद्रटारलगायतका क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी दिएको हो।

बाढीका कारण कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। यसका कारण सातवटा जलविद्युत् केन्द्रबाट उत्पादन हुने १९० मेगावाट विद्युत् प्रसारण अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा प्रसारण लाइनको विस्तृत निरीक्षण तथा मर्मतमा कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, प्राधिकरणको सहायक कम्पनीद्वारा प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट, डक्ट र टर्बाइन फ्लोरमा पानी पसेर क्षति पुगेको छ। उक्त आयोजना मर्मत गरी पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ।

यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३बीको २२० केभी हबसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो। उक्त घटनाका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको थियो। त्यसबाट प्राधिकरण र यसका सहायक कम्पनीलाई करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

बाढीपहिरोका कारण अवरुद्ध विद्युत् उत्पादनमध्ये सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका आयोजनाहरू पुनः सञ्चालनमा आइसकेका छन्। त्यस्तै, १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना सोमबार साँझसम्म सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ।

विद्युत् वितरणतर्फ वर्षा रोकिएसँगै म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत् आपूर्ति पुनः सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म तथा मनाङमा मंगलबारसम्म विद्युत् आपूर्ति सुचारु गर्ने लक्ष्यसहित प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

बाढीपहिरोबाट विद्युत् संरचनामा क्षति पुगे पनि प्राधिकरणले आगामी हिउँदको विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने योजना तयार गरेको छ।

प्राधिकरणका अनुसार आगामी सुक्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुनेछ। त्यस्तै, ढल्केवर–मुजफ्फरपुर, टनकपुर, बिहारका विभिन्न प्रसारण बिन्दु तथा आरटीसीमार्फत थप १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ।

यसअनुसार सुक्खायाममा कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने प्राधिकरणको अनुमान छ। यसले सुक्खायाममा अनुमान गरिएको २ हजार २९२ मेगावाटको उच्च विद्युत् माग धान्न सक्ने प्राधिकरणले जनाएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal