
इजरायल । दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि चक्कु प्रहार भएपछि विमानले तीव्र गतिमा उचाइ गुमाएको छ। उक्त घटनाका क्रममा यात्रु यानिभ हायुनले आक्रमणकारीलाई नियन्त्रणमा लिनुका साथै विमानको नियन्त्रण पुनःस्थापित गर्न सहयोग गरेका छन्।
विमान उडाउने कुनै औपचारिक तालिम नलिएका हायुनले आपत्कालीन अवस्थामा विमानको नियन्त्रण कसरी सम्हाल्न सके भन्ने विषय अहिले चर्चामा छ।
इजरायल फर्किएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हायुनसँग भेट गरेका थिए। सो क्रममा नेतन्याहुले विमानको नियन्त्रणबारे उनलाई कसरी जानकारी भयो भनेर सोधेका थिए। प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको भिडियोमा हायुनले आफूले विमान दुर्घटनासम्बन्धी अनुसन्धानका भिडियो हेर्ने गरेको जवाफ दिएका छन्।
‘म एयर क्र्यास इन्भेस्टिगेसन हेर्छु, प्रधानमन्त्रीज्यू,’ उनले भनेका थिए।
घटनाका क्रममा विमानले तीव्र गतिमा उचाइ गुमाउन थालेपछि हायुनसहित केही यात्रुले ककपिटमा प्रवेश गर्ने प्रयास गरेका थिए। तर घाइते पाइलट ढोकामा ढलेका कारण ककपिटको ढोका खोल्न कठिन भएको उनले बताएका छन्।
पछि घाइते पाइलटले ढोका खोल्न सफल भएपछि यात्रुहरू ककपिटभित्र प्रवेश गरेका थिए। त्यहाँ पुग्दा दुवै पाइलट आफ्नो सिटमा नरहेको उनीहरूले देखेका थिए।
हायुनका अनुसार एक पाइलट भुइँमा ढलेका थिए भने अर्का व्यक्ति ककपिटको नियन्त्रण प्यानलनजिक थिए। आक्रमणकारीले विमानको नियन्त्रण प्रणालीमा क्षति पुर्याउन खोजिरहेको जस्तो देखिएको उनले बताएका छन्।
त्यसपछि हायुनले पछाडिबाट आक्रमणकारीलाई समातेर नियन्त्रण प्रणालीबाट टाढा तानेका थिए। अन्य यात्रुले पनि उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।
हायुनले आफू व्यावसायिक पाइलट नभएको स्पष्ट पार्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धानका भिडियो हेर्ने गरेको बताएका छन्। त्यस्ता भिडियोबाट प्राप्त सामान्य जानकारीले आपत्कालीन अवस्थामा विमानको नियन्त्रण सम्हाल्न सहयोग पुगेको उनको भनाइ छ।
उनका अनुसार घटनाका क्रममा सबै कुरा केही सेकेन्डमै भएको थियो। विमानको अगाडिको भाग तीव्र गतिमा तल झरिरहेको देखेपछि आफूले नियन्त्रण प्रणाली सम्हाल्न सहयोग गरेको उनले बताए। त्यसपछि विमानको नियन्त्रण चालक दलका अन्य सदस्यले सम्हालेका थिए।
फ्लाईदुबईको एफजेड १०७३ उडान बुधबार दुबईबाट तेलअभिभका लागि उडेको थियो। विमानमा चालक दलका सदस्यसहित १७४ जना सवार थिए। उडानका क्रममा पाइलटमाथि आक्रमण भएपछि विमानले छोटो समयमै हजारौँ फिट उचाइ गुमाएको उडान अनुगमनसम्बन्धी विवरणमा उल्लेख छ।