14:40:17 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ, नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार सेनाको परिचालन गरिने उहाँले जानकारी दिनुभयो।

“एकीकृत सुरक्षा योजनाले दिएको मार्गदर्शनअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि नै नेपाली सेना फिल्डमा परिचालन हुनेछ,” उहाँले भन्नुभयो।

उक्त सुरक्षा योजना सेनाको परिचालनसम्बन्धी विषयमा राष्ट्रिय सुरक्षा परिषद्बबाट समेत स्वीकृत भइसकेको छ। निर्वाचन प्रक्रियामा सेनाले तीन चरणमा काम गर्नेछ। निर्वाचनपूर्वको चरणमा मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाले बहन गर्नेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय तथा सहकार्यमा महत्वपूर्ण पूर्वाधारहरूको सुरक्षा जिम्मेवारी सेनाले लिने जनाइएको छ। साथै, चारै सुरक्षा निकाय, जिल्ला प्रशासन र सम्बन्धित निकायसँगको सहकार्यमा निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम तथा अभ्यास तल्लो तहसम्म सञ्चालन गरिनेछ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त तालिम तथा अभ्यास सञ्चालन गरिने सेनाको भनाइ छ।

मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल तथा केन्द्रमा खटिनेछ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति प्रदान गरिनेछ।

विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा वेश स्थापना गरिने तयारी छ। मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी नेपाली सेनाले लिनेछ।

निर्वाचनलाई लक्षित गरी हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन्। ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सरकारले आवश्यक थप सुरक्षा प्रबन्ध मिलाउने बताइएको छ।

सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिसँगको समन्वयमा निर्वाचन सुरक्षा प्रदान गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै नेपाली सेनाले तोकिएको मितिमा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको जनाएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal