14:28:54 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कंगोमा इबोलाको नयाँ स्ट्रेनको आतंक : ८० जनाको मृत्यु, अफ्रिकाभर सतर्कता बढ्यो

काठमाडौं। प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको नयाँ स्ट्रेन फैलिँदा त्रास बढेको छ।

हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद सङ्क्रमणका घटना फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले यस अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरे पनि हाललाई महामारीको श्रेणीमा नराखिएको जनाएको छ।

कंगोका स्वास्थ्यमन्त्री स्यामुएल–रोजर कम्बाका अनुसार पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। परीक्षणका क्रममा ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन्। यो स्ट्रेन यसअघि कंगोमा कम देखिएको प्रकार भएकाले स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।


इबोला अहिले इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिइसकेको छ। स्थानीय बासिन्दाका अनुसार पछिल्ला दिनहरूमा लगातार मृत्यु भइरहेका छन्। बुनियाका स्थानीय जीन मार्क असिम्वेले एकै दिन धेरै व्यक्तिको अन्तिम संस्कार गर्नुपरेको अवस्था आएको बताएका छन्।

विशेषज्ञहरूका अनुसार अहिले उपलब्ध अधिकांश खोप र उपचार ‘जायरे’ स्ट्रेनलाई लक्षित गरेर विकास गरिएका हुन्। तर यस पटक देखिएको ‘बुन्डिबुग्यो’ स्ट्रेन फरक भएकाले नियन्त्रण चुनौतीपूर्ण बन्न सक्ने आशंका गरिएको छ।

कंगोसँग सीमा जोडिएको युगान्डामा पनि इबोलाको एक केस पुष्टि भएको छ। संक्रमित बिरामीको कम्पाला स्थित अस्पतालमा मृत्यु भएपछि शव कंगो फिर्ता पठाइएको थियो। यद्यपि, युगान्डाले स्थानीय स्तरमा संक्रमण फैलिएको पुष्टि गरेको छैन।

अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा संक्रमण फैलिने जोखिम उच्च रहेको चेतावनी दिएको छ। त्यसैगरी, केन्याले पनि सबै प्रवेश नाकामा निगरानी कडा पार्दै विशेष स्वास्थ्य टोली परिचालन गरेको छ।

सन् १९७६ मा पहिलो पटक अफ्रिकामा देखिएको इबोला अत्यन्त घातक भाइरस मानिन्छ। संक्रमित व्यक्तिको रगत, वान्ता तथा शरीरका अन्य तरल पदार्थबाट सर्ने यो रोगबाट विश्वभर २५ देखि ९० प्रतिशतसम्म बिरामीको मृत्यु हुने गरेको छ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबैभन्दा ठूलो प्रकोप मानिन्छ, जसमा ११ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal