
म्याग्दी, १३ पुस — पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्।
खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त गरेको एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमस्थित तामाखानीको खोजतलास तथा सम्भाव्यता अध्ययन सुरु गरेको हो। मच्छिम गाउँ नजिकैको पाखोमा अवस्थित छ स्थानका तामाखानी करिब पाँच दशकदेखि बन्द अवस्थामा रहेका छन्।
धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार भूगर्भविद्हरूको टोली तामाको मात्रा पहिचानका लागि खानी क्षेत्रमा पुगेको छ। अध्ययन सहज बनाउन मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानीसम्म पहुँचमार्ग निर्माण गरिएको छ।
खानीको खोजतलास र सम्भाव्यता अध्ययन सम्पन्न भएपछि अर्को चरणमा उत्खनन प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताउनुभयो।
खानी उत्खननका लागि अध्ययन थालिएपछि मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताउनुभयो। उहाँका अनुसार २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरी मच्छिमको खानीबाट तामा निकाल्ने गरिन्थ्यो। प्रविधिको अभाव र आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्थाका कारण त्यस समयमा खानी बन्द भएको हो।
छन्त्याल समुदाय खानी उत्खननकै सिलसिलामा मच्छिममा बस्ती बसाएको बताइन्छ। खानी खन्ने पेसा उनीहरूको पुख्र्यौली पेशा हो। हाल पनि त्यहाँ तामाका धाउ, सुरुङ तथा पहाडमा तामा रसाएको अवस्था देख्न सकिन्छ।
स्थानीयवासीले ती सुरुङभित्र प्रवेश गरी घन र छिनो प्रयोग गरेर तामा निकाल्ने गरेका थिए। उक्त तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडाकुँडा बनाइन्थ्यो, जसलाई आज पनि केही स्थानीयले घरमा सजाएर राखेका छन्।
उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोटस्थित तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ। खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दी जिल्लामा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल तथा तातोपानीका मुहान पाइन्छन्। जिल्लामा पाइने खनिजमध्ये तामा प्रमुख मानिन्छ। मच्छिमसँगै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगङ्गाको ठाडाखानी, कुइनेखानी तथा मङ्गलेखानीमा पनि तामाखानी रहेका छन्। साथै धवलागिरिको नर्जा तथा मालिकाको रुम, डाँडागाउँ र निस्कोट क्षेत्रमा स्लेटढुङ्गा खानी पाइन्छन्।