17:10:37 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

नागपञ्चमीमा नागपोखरीमा भक्तजनको घुइँचो

काठमाडौं। परम्पराअनुसार घरको मूलढोकामा नागको तस्वीर टाँसेर नागको पूजा आराधना गर्दै आज नागपञ्चमी पर्व मनाइँदैछ। नागपञ्चमीका अवसरमा देशभरका विभिन्न नाग मन्दिर, देवालय, पोखरी तथा तालतलैयामा भक्तजनको भीड लागेको छ।

काठमाडौं महानगरपालिका–१ स्थित प्रसिद्ध नागपोखरीमा पनि बिहानैदेखि नागको पूजा तथा दर्शन गर्न आउने भक्तजनको ठूलो घुइँचो लागेको छ। भक्तजनहरू बिहानैदेखि नागपोखरी पुगेर नागको पूजा, दर्शन तथा धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।

हिन्दू धार्मिक परम्पराअनुसार नागपञ्चमीका दिन घरको मूलढोकामा नागको तस्वीर टाँस्ने प्रचलन छ। धार्मिक मान्यताअनुसार यसो गर्दा वर्षभरि नाग, सर्प, बिच्छीलगायत विषालु जीवबाट हुने जोखिमबाट परिवार सुरक्षित रहने विश्वास गरिन्छ। साथै अग्नि, मेघ तथा चट्याङको भयबाट समेत सुरक्षा मिल्ने जनविश्वास रहिआएको छ।

नागपञ्चमीका अवसरमा भक्तजनले नागदेवताको पूजा गर्दै दूध, अक्षता, फूल, दूबो, चन्दनलगायत सामग्री चढाउने गरेका छन्। कतिपय स्थानमा नागदेवताको विशेष पूजा तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको छ।

विशेषगरी नागपोखरी, टौदहलगायत काठमाडौं उपत्यकाका विभिन्न धार्मिक तथा प्राकृतिक जलाशयमा नागपञ्चमीका दिन भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ। नागलाई जल, वर्षा र प्रकृतिसँग जोडेर हेर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेकाले पनि यस पर्वको विशेष महत्व रहेको छ।

नागपञ्चमीलाई प्रकृति र जीवजन्तुप्रतिको सम्मान व्यक्त गर्ने पर्वका रूपमा समेत लिइन्छ। यस दिन नाग तथा सर्पको पूजा गरेमा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास छ।

परम्परागत संस्कार र धार्मिक आस्थासँग जोडिएको नागपञ्चमी नेपालमा हरेक वर्ष विशेष श्रद्धा र भक्तिभावका साथ मनाइँदै आएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal