14:34:49 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

नेतन्याहुलाई कुनै पनि हालतमा पक्राउ गरिने छैनतः ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई संयुक्त राज्य अमेरिकामा कुनै पनि परिस्थितिमा पक्राउ हुन नदिने बताएका छन्। न्युयोर्कका मेयर जोहरान ममदानीले नेतन्याहु संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आए कानुनी रूपमा गिरफ्तारीको सम्भावना अध्ययन भइरहेको बताएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

ट्रम्पले सोमबार राति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत नेतन्याहुलाई अमेरिकामा पक्राउ गरिने कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले नेतन्याहु इरानविरुद्ध लडिरहेको उल्लेख गर्दै पक्राउ गर्नुपर्ने भए इरानलाई हिंसा र विनाशतर्फ धकेल्नेहरूलाई गर्नुपर्ने दाबी गरेका छन्।

यसअघि द न्युयोर्क टाइम्स को पोडकास्ट द इन्टरभ्यु मा बोल्दै न्युयोर्कका मेयर जोहरान ममदानीले नेतन्याहु सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आए न्युयोर्क सहरको कानुनी विभागले सम्भावित गिरफ्तारीको कानुनी आधारबारे अध्ययन गरिरहेको बताएका थिए।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२४ मा नेतन्याहुविरुद्ध गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। तर अमेरिका आईसीसीको सदस्य राष्ट्र नभएकाले ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले उक्त निर्णयको आलोचना गर्दै आएका छन्।

अमेरिकी राजदूतको चार कानुनी तर्क

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले मेयर ममदानीको भनाइ व्यवहारमा कार्यान्वयन हुन नसक्ने चार कारण प्रस्तुत गरेका छन्। अमेरिका आईसीसी स्थापना गर्ने रोम विधानको पक्षधर राष्ट्र होइन। संयुक्त राष्ट्रसंघ मुख्यालयसम्बन्धी सम्झौताअनुसार महासभामा सहभागी हुन आएका विदेशी सरकार प्रमुखलाई कूटनीतिक सुरक्षा प्राप्त हुन्छ। राष्ट्र तथा सरकार प्रमुखलाई कानुनी उन्मुक्ति (Head of State Immunity) लागू हुन्छ। विदेश नीति तथा यस्ता कानुनी विषय स्थानीय सरकार होइन, संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्छ।

इजरायली पक्षको प्रतिक्रिया

संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डानोनले ममदानीको अभिव्यक्तिलाई “हेडलाइन बनाउन गरिएको राजनीतिक बयान” को संज्ञा दिएका छन्। उनले नेतन्याहु निर्धारित कार्यक्रमअनुसार न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने दाबी गर्दै पक्राउको कुरा निराधार रहेको बताएका छन्।

यस्तै, इजरायलका लागि अमेरिकाका पूर्वराजदूत डान सापिरोले नेतन्याहुलाई पक्राउ गर्ने कुनै असफल प्रयास भए त्यसले उल्टै इजरायलभित्र उनलाई राजनीतिक रूपमा फाइदा पुग्ने टिप्पणी गरेका छन्।

मानवअधिकारकर्मी तथा इजरायल–अस्ट्रेलिया यहुदी परिषद्का अध्यक्ष आर्सेन ओस्ट्रोव्स्कीले पनि ममदानीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय कानुन, अमेरिकी कानुन र मेयरको अधिकारबारे गम्भीर भ्रम देखाएको बताएका छन्।

नेतन्याहुको पलटवार

रेडियो प्रस्तोता सिड रोजेनबर्गसँगको अन्तर्वार्तामा प्रधानमन्त्री नेतन्याहुले मेयर ममदानी हमासप्रति सहानुभूति राख्ने व्यक्ति भएको आरोप लगाएका छन्।

उनले ममदानीले इजरायलमाथि निरन्तर आक्रमण गरिरहेको र हमासजस्ता समूहप्रति नरम दृष्टिकोण अपनाएको दाबी गर्दै, “जो इजरायल र यहुदी समुदायलाई घृणा गर्छन्, उनीहरू अन्ततः अमेरिकालाई पनि घृणा गर्छन्,” भन्ने टिप्पणी गरेका छन्।

यो विवादसँगै नेतन्याहुको आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघ महासभा भ्रमण र त्यससँग जोडिएको कानुनी तथा राजनीतिक बहस अन्तर्राष्ट्रिय रूपमा थप चर्चामा आएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal