15:15:47 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

प्रचण्डलाई देवता होइन, असल नेता र राष्ट्रको अभिभावक बन्न देऊ

नेपालकाे समकालीन राजनीतिक नेतृत्वहरुमा प्रचण्ड जस्तो गतिशील नेता काेहि छैन भन्दा कसैमाथि अन्न्याय पर्ने छैन। यदि काेहि नेपाली यो कुरा मान्न तयार छैन भने पुर्वाग्रहले भरिपुर्ण छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ। नेपाली नागरिक,सामाजिक अभियन्ता,नागरिक अगुवा ,कलाकार र राजनितिज्ञहरुले समय समयमा अभिव्यक्त गरेका कुराले याे बिषयलाई पुष्टि गर्दछ।

राजनीति परिवर्तनको साधन हो, नेता राजनीतिलाई डाेर्याउने सारथि हुन, पूजा गर्ने वस्तु होइनन्। तर नेपाली राजनीतिमा नेताहरूलाई देवता बनाउने प्रवृत्ति दिनानुदिन बढ्दै गएको छ। यही प्रवृत्तिले पार्टीहरू कमजोर बनाएको छ, लोकतन्त्रलाई खोक्रो बनाएको छ र पुस्तागत विश्वासमा गम्भीर संकट पैदा गरेको छ। आजको जेन–जी पुस्ता यही संकटलाई देखेर प्रश्न गरिरहेको छ।

नेता किन आलोचनामाथि हुन नहुने हाे ?
नेतालाई किन देवता बनाइन्छ?

देवत्वकरणले छोटो समयका लागि भावनात्मक एकता त दिन सक्ला, केहीलाई व्यक्तिगत फाइदा पुर्‍याउन सक्ला तर दीर्घकालिन रुपमा यसले विचार, संगठन र नेतृत्व सबैलाई क्षति पुर्‍याउँछ। नेपालकै राजनीतिका केन्द्रमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर पनि यही खतरा देखिन थालेको छ। आम नेपाली जनताको सन्देश स्पष्ट सन्देश छ प्रचण्डलाई देवता नबनाऊ, असल नेता र राष्ट्रको अभिभावक बन्न देऊ। प्रचण्डलाई मण्डेला बन्ने र संसारकै महान नेता बन्ने बाटाेमा अघि बढ्न सहयोग गर।

नेताको देवत्वकरणले पार्टी र कार्यकर्तालाई त असर गर्छनै, देवत्वकरणकोले आलोचनाको अन्त्य गर्छ। जब नेतालाई देवता बनाइन्छ, तब प्रश्न गर्नेलाई दुश्मन ठानिन्छ। प्रश्नहरुको अन्त्य हुन्छ। आलोचना असहिष्णुता बन्छ, आत्मसमीक्षा बन्द हुन्छ र गल्ती सुधार्ने प्रक्रिया अवरुद्ध हुन्छ। राजनीति भनेको निरन्तर सुधारको अभ्यास हो, जहाँ नेता प्रश्नको केन्द्रमा हुनुपर्छ, प्रशंसाको मूर्तिमा होइन। देवत्वकरण हुँदा पार्टीभित्र विचार होइन, व्यक्तिपूजा हावी हुन्छ। योग्य कार्यकर्ता होइन, नजिकका मानिसहरू अगाडि बढाइन्छन्। यसले संगठनलाई कमजोर, अवसरवादी र विभाजित बनाउँछ। सबैभन्दा गम्भीर असर लोकतन्त्र,संघीयता र गणतन्त्रमा पर्दछ। लोकतन्त्र नेतामाथि नियन्त्रण हो, अन्धभक्ति होइन। जब नेता देवता बन्छ, जनता अनुयायी र दास मात्र बन्छन्, नागरिक बन्दैनन्।


नेकपा एमालेका अध्यक्ष केपी ओलीको देवत्वकरणलाई हामीले सम्झनुपर्ने हुन्छ । नेपाली राजनीतिमा केपी शर्मा ओलीको देवत्वकरण यसको ज्वलन्त उदाहरण हो। राष्ट्रवादी नेता,एक्लो वीर, सबै जान्ने, जस्ता छविले ओलीलाई आलोचना भन्दा माथि राखियो। पार्टीभित्र प्रश्न गर्नेहरूलाई किनारा लगाइयो, फरक विचारलाई शत्रु मानियो। नतिजा के भयो? पार्टीभित्र गम्भीर विभाजन आयो। संविधान र लोकतान्त्रिक प्रक्रियामाथि हस्तक्षेप भयो। संसद विघटनजस्ता अलोकतान्त्रिक कदम चालिए। संविधानको मज्जाक उडाउने कार्य भयो । अन्ततः उनको पार्टी कमजोर भयो र जनविश्वास खस्कियो। ओली स्वयं असफल मात्र भएनन्, उनको देवत्वकरणले उनको पार्टीलाई पनि दीर्घकालीन क्षति पुर्‍यायो। उनी नागरिकबाट लखेटिए र दुई तिहाइकाे सत्ता गर्ल्यामगुर्लुम ढल्याे। केही दिन लाेकतन्त्र , गणतन्त्र र त्यसबाट प्राप्त उपलब्धि के हुने भन्ने प्रश्न समेत खडा भयो। यो उदाहरण प्रचण्ड र नेपाली कम्युनिस्ट पार्टीका लागि चेतावनी हाे। देवता बनाइएको नेता सुध्रदैन,पतन हुन्छ।

केहीअघि नेपाली कम्युनिस्ट पार्टी निकट जेन-जी रेडफाेर्सकाे कार्यक्रममा प्रचण्डलाई गाडी देखि मञ्चसम्म रेडफाेर्सका कार्यकर्ताले पुष गुच्छाले पुजा गरे। हेर्दा सामान्य लागेपनि याे भन्दा अगाडि वाइसीएलले पुजा गरेको सम्झनु पर्दछ। आज त्यत्रो बलियो शाख भएको वाइसीएल खै? बिचार बिहिन भएर भक्तिगानमा लागेपछि वाइसीएल अहिले नाम मात्रैकाे भएको छ। अहिले वाइसीएल संग न बिचार छ न याेजना छ न कार्यक्रमनै छ। नेतालाई नेतानै हुन दिएर आफू कार्यकर्ता वा नागरिक हुनेकी ,भगवान बनाएर दास बन्ने भन्ने कुरा संगठन र कार्यकर्तामा भरपर्छ। अहिले रेडफाेर्स दास बन्ने दौडमा देखिन्छ। रेडफाेर्सका कार्यकर्ताले यसलाई तुरुन्त सच्याउनु पर्दछ।


प्रचण्ड नेपाली राजनीतिका महत्त्वपूर्ण पात्र हुन्। उनले युद्धदेखि शान्ति प्रक्रिया, संविधान निर्माणदेखि सत्ता सञ्चालनसम्मको लामो यात्रा तय गरेका छन्। आन्तरिक राजनीति ,युवाको चेत,परिवर्तन र विश्व राजनीतिलाई तुरुन्तै बुझ्न र परिभाषित गर्न सक्ने नेता प्रचण्ड हुन। अझ आफू खुम्चिएर पनि नयाँ शक्ति स्विकार्न सक्ने प्रचण्डको क्षमतालाई पनि आम नेपालीले सम्मान गर्नुपर्छ । तर प्रचण्डले गरेका योगदानकालाई अपमान हुनेगरी देवता बनाउनु सबैभन्दा ठूलो भूल र उनी माथि अन्याय हुनेछ।उनी माथि मात्रै हाेइन देशप्रति पनि अन्न्याय हुनेछ ।


असल नेता देवता हुँदैन, ऊ जवाफदेही हुन्छ। राष्ट्रको अभिभावक त्यो हो, जसले आलोचना सुन्छ, गल्ती स्वीकार्छ र सुधार गर्छ। प्रचण्डलाई त्यही ठाउँमा राख्न जरुरी छ। यदि प्रचण्डलाई देवता बनाइयो भने उनका कमजोरी लुकाइन्छ गलत निर्णयको जिम्मेवारी अरूमाथि थोपरिन्छ पार्टीभित्र नयाँ नेतृत्व विकास हुन पाउँदैन तर यदि उनलाई अभिभावक बन्न दिइयो भने उनी अनुभवका आधारमा मार्गदर्शक बन्न सक्छन् र बिस्तारै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सक्छन्। पार्टीलाई विचारमा आधारित बनाउने अवसर मिल्छ।


जेन–जी पुस्ता सामाजिक सञ्जालमा हुर्किएको पुस्ता हो। यो पुस्ताले सूचना तुलना गर्नुपर्छ, प्रश्न गर्नुपर्छ र आँखा बन्द गरेर विश्वास गर्नुहुँदैन। यही कारण जेन–जी नेताको देवत्वकरणबाट टाढा हुनुपर्छ।
जेन–जीलाई चाहिएको नेता
पारदर्शी नेता हाे, आलोचना स्वीकार्ने नेता हाे, पद होइन, नीतिलाई प्राथमिकतामा राख्ने नेता हाे, पुरानो गल्ती नदोहोर्‍याउने नेता हाे, आफुलाइ सुधार गर्ने नेता हाे। जेन-जी रेडफाेर्सले जब प्रचण्डलाई देवता बनाउछ, जेन–जी आफैं टाढिनु पर्ने दिन आउन सक्छ। जब प्रचण्डलाई सुधार गर्न सक्ने, सुन्न सक्ने नेता बनाइन्छ तब जेन–जी जोडिन्छ। पार्टी बलियो बनाउने उपाय व्यक्तिपूजा होइन, विचार हाे।


इतिहासले देखाएको छ, व्यक्तिपूजामा आधारित पार्टी दीर्घकाल टिक्दैन। विचार, नीति र संस्थागत संरचनामा आधारित पार्टी मात्र बलियो हुन्छ। माओवादी आन्दोलनको आत्मा पनि यही थियो र नेपाली कम्युनिस्ट पार्टीको पनि यही हुनुपर्दछ। सामूहिक नेतृत्व, जनउत्तरदायित्व र परिवर्तन अहिलेका आवश्यकता हो। आज त्यो आत्मा जोगाउने कि देवत्वकरणमा गुमाउने भन्ने निर्णय गर्ने जिम्मा रेडफाेर्सकाे हातमा आएको छ।


र अन्त्यमा,
देवत्वकरणले पार्टीलाई फाइदा पुग्दैन, बरु क्षति पुर्‍याउँछ। ओलीको उदाहरणले यो स्पष्ट गरिसकेको छ। अब प्रचण्डको हकमा त्यो गल्ती दोहोर्‍याउनु आत्मघाती हुनेछ।
जेन–जी मुभमेन्टको सन्देश सरल छ,प्रष्ट छ र गहिरो छ।
प्रचण्डलाई देवता नबनाऊ। उनलाई असल नेता बन्न देऊ। राष्ट्रको अभिभावक बन्न देऊ। प्रश्न गर्न देऊ, सुधार गर्न देऊ ।
यही बाटोले मात्र पार्टी बलियो हुन्छ, लोकतन्त्र सुरक्षित हुन्छ र भविष्यको पुस्ताले राजनीतिप्रति भरोसा गर्न सक्छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal