14:29:18 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

भोटेकोशीमा बाढीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा रहेका तथा खोज, उद्धार र राहतमा खटिएका सबैलाई सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार आइतबार बिहान ७:२० बजे भोटेकोशीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको हो।

बहाव बढेसँगै रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत प्रभावित जिल्लाका नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले भनेको छ, “रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउनुहुन अनुरोध छ।”

यसअघि बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा बाढी आए पनि तत्काल ठूलो जोखिम नरहेको जनाएको थियो। आइतबार बिहान पौने ६ बजे जारी सूचनामा रसुवादेखि नुवाकोटसम्म त्रिशूली नदीको बहाव केही बढेको भए पनि ठूलो बाढीको जोखिम नरहेको बताइएको थियो।

तर, त्यसअघि नै भोटेकोशीमा बाढीको आवाज सुनिएको भन्दै नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अपिल गरेको थियो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले पनि भोटेकोशीमा ठूलो आवाज सुनिएको तर अँध्यारो भएका कारण बाढीको अवस्था यकिन गर्न नसकिएको बताएका थिए। उनका अनुसार करिब एक घण्टादेखि निरन्तर ठूलो आवाज आइरहेको थियो र यसबारे सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।

यसैबीच, त्रिशूली क्षेत्रमा उद्धार तथा राहतमा खटिएको हाम्रो टिम नेपालका बिमल पन्तले ठूलो बाढी आएपछि आफूहरू सुरक्षित स्थानतर्फ गएको बताएका छन्।

उनका अनुसार बाढी आएपछि तल्लो क्षेत्रमा भागाभागको अवस्था बनेको थियो। अघिल्लो बाढीभन्दा ठूलो बाढी आएको सूचना पाएपछि उनीहरू डाँडामा गएर बसेका थिए।

रसुवा प्रशासनबाट बाढी आएको सूचना प्राप्त भएपछि चितवन र काठमाडौंको नागढुंगामा समेत सवारीसाधन रोकिएका थिए।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डिल्लीनारायण पाण्डेका अनुसार बिहान साढे ४ बजेदेखि चितवन र नागढुंगामा सवारीसाधन रोकिएको थियो। तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।

पछि बाढीको तत्काल ठूलो जोखिम नरहेको सूचना प्रवाह भएपछि रोकिएका सवारीसाधन पुनः सञ्चालनमा आएका थिए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal