14:28:54 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

राजा र हिन्दू राष्ट्रको पक्षमा छैनौँ : बालेन

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफू हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा नरहेको स्पष्ट गरेका छन्। उनले हिन्दू राष्ट्रको मुद्दासँग राजतन्त्र जोडिने भएकाले अहिले त्यसतर्फ जान उपयुक्त नहुने बताएका छन्।

शुक्रबार मधेशकेन्द्रित दलका नेताहरूसँग भएको करिब दुई घण्टाको छलफलमा प्रधानमन्त्री बालेनले सरकार र आफ्नो दल संघीयताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका हुन्।

बैठकपछि जनता समाजवादी पार्टी (नेपाल) का महासचिव रामकुमार शर्माका अनुसार, नेताहरूले हिन्दू राष्ट्रबारे प्रधानमन्त्रीसँग धारणा सोधेका थिए। त्यसक्रममा बालेनले भने, “हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउँछ। अहिले त्यसो गर्नु ठीक हुँदैन। संघीयताको कमिटमेन्ट पनि पूरा गरेर जान्छु।”

शर्माले प्रधानमन्त्रीको भनाइले हिन्दू राष्ट्र र राजतन्त्रबारे सरकारको धारणा स्पष्ट भएको बताए।

त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले तराई मधेशमा देखिएको साम्प्रदायिक तनाव नियन्त्रणका लागि सरकार सक्रिय रहेको उल्लेख गर्दै सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेका थिए।

उनले “केही तत्वहरूले साम्प्रदायिक दंगा गराएर स्वार्थ सिद्ध गर्न खोजिरहेका छन्। त्यसविरुद्ध हामी सबै एकजुट भएर लड्नुपर्छ,” भन्ने धारणा राखेको महतोले बताए।

छलफलका क्रममा प्रधानमन्त्रीले सुनसरी घटनाको छानबिन प्रतिवेदनमा दोषी ठहरिने व्यक्तिमाथि कानुनी कारबाही हुने र पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन गरिने विश्वास पनि दिलाएका थिए।

बैठकमा मधेशकेन्द्रित दलका नेताहरूले गृहमन्त्रीले सुनसरी घटनापछि गरेका सम्झौताहरू समयमै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले विगतका सरकारले सम्झौता कार्यान्वयन नगरेको स्मरण गराउँदै वर्तमान सरकारले जनताले महसुस गर्ने गरी परिवर्तनकारी काम गर्नुपर्नेमा जोड दिएका थिए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal