
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका ४ हजार २११ महाधिवेशन प्रतिनिधिको सहभागितामा महाधिवेशन आयोजना गरिएको हो।
महाधिवेशनका लागि निर्वाचन आयोगले उम्मेदवारको मनोनयन प्रक्रियामा विशेष मापदण्ड लागू गरेको छ। प्रत्येक उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ।
साथै, कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक बनेका प्रतिनिधिले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाउने व्यवस्था गरिएको निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए।
उनका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको हो।
महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरस्थित गेस्टहाउस चौरमा हुँदैछ भने बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै चौबिसकोठी चोकबाट गेस्टहाउस चौरतर्फ सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।
महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह श्रीमती र छोरीसहित चितवन पुगेका छन्। उनी र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापा पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भई शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको उनका स्वकीय सचिव शंकर कुइँकेलले बताएका छन्।
शनिबारदेखि नै भरतपुरमा महाधिवेशनको चहलपहल बढेको छ। उद्घाटनस्थलमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिरसहितको महाधिवेशन लोगो अंकित बोर्ड राखिएको छ।
महाधिवेशनबाट सभापतिसहित १९ पदाधिकारी तथा सात प्रदेश समिति सभापतिसहित कुल १५८ सदस्यीय केन्द्रीय समिति चयन गरिने रास्वपाले जनाएको छ।