14:29:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

विश्वका उत्कृष्ट पाँच छाला रोग विशेषज्ञमध्ये डा. सूचना मरहट्टा सम्मानित, DermImpact अवार्ड प्राप्त गर्ने पहिलो नेपाली

काठमाडौं। नेपाली छाला रोग विशेषज्ञ डा. सूचना मराहट्टा ले अन्तर्राष्ट्रिय प्रतिष्ठित DermImpact अवार्ड २०२५ प्राप्त गर्दै विश्वभरका उत्कृष्ट पाँच छाला रोग विशेषज्ञमध्ये स्थान बनाउन सफल भएकी छन्।

यो अवार्ड प्राप्त गर्ने उनी पहिलो नेपाली चिकित्सक बनेकी छन्, जसले सम्पूर्ण नेपालीका लागि गौरव र प्रेरणाको विषय बनेको छ।

छाला रोग उपचारसँगै गोर्खा जिल्लाका चारवटा सरकारी विद्यालयहरूमा किशोर किशोरीहरूको स्वास्थ्य, यौन शिक्षा तथा मनोसामाजिक सचेतनाका कार्यक्रमहरू सञ्चालनका लागि उनलाई यो अवार्ड दिइएको हो। यस कार्यक्रम सञ्चालनका लागि उनको टोलीमा डर्माटोलोजिस्ट, साइकोलोजिस्ट तथा सामुदायिक स्वास्थ्य विज्ञहरूको समेत सक्रिय सहभागिता रहेको छ।

गोरखाका विद्यालयमा यौन शिक्षा र मनोसामाजिक सचेतना कार्यक्रम DermImpact Award परियोजना अन्तर्गत डा. मराहट्टाको नेतृत्वमा गोरखा जिल्लाका ४ सरकारी विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूलाई लक्षित गरी यौन स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रमको प्रारम्भिक चरणमा २८ जुन २०२५ मा विशेषज्ञहरूको टोलीले एकदिने कार्यशाला आयोजना गरी किशोर–किशोरीलाई समयसापेक्ष ढंगले शिक्षा दिन आवश्यक विषयवस्तु तयार गरेको थियो।


त्यसपछि सेप्टेम्बर १८ र १९ तारिखमा गोरखा सदरमुकाममा सात विद्यालयका शिक्षक, सात जना महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाहरूको सहभागितामा ट्रेनिङ अफ ट्रेनर्स (ToT) कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख, उपप्रमुख, पत्रकार महासंघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो।

परियोजनाको अर्को चरणअन्तर्गत गोरखाका पाँच विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूसँग यौन स्वास्थ्य तथा मनोसामाजिक सचेतनासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो।


विशेषज्ञ टोलीले किशोर किशोरीहरूलाई आफ्नो अधिकार, सुरक्षा, स्वास्थ्य समस्या देखिएमा कहिले, कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने विषयमा जानकारी प्रदान गरेको थियो। कार्यक्रम २४ मेदेखि २७ मेसम्म सञ्चालन गरिएको थियो।

यसै क्रममा, हेल्दी स्किन परिवारको तर्फबाट विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारी लाई लक्षित गरेर निःशुल्क छाला रोग शिविर समेत सञ्चालन गरिएको थियो, जसबाट २७८ जना लाभान्वित भएका थिए। शिविरमा आवश्यक परामर्श, परीक्षण तथा औषधि वितरण गरिएको थियो।

हेल्दी स्किन क्लिनिक एण्ड रिसर्च सेन्टर ले DermImpact परियोजना अन्तर्गत गोरखाका दुर्गम पहाडी क्षेत्रमा स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले किशोर किशोरीहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै छाला रोगको समयमै पहिचान र उपचारका लागि स्थानीय समुदायलाई प्रोत्साहित गरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली चिकित्सकको पहिचान


सामुदायिक स्वास्थ्य तथा छाला रोग सेवामा डा. सूचना मराहट्टाले पुर्‍याउँदै आएको योगदानको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा हुँदै आएको छ। विश्वका उत्कृष्ट पाँच छाला रोग विशेषज्ञमध्ये छनोट भई DermImpact अवार्ड प्राप्त गर्नु नेपाली स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र सामाजिक चेतनालाई एकैसाथ अघि बढाउने प्रयासका कारण डा. मराहट्टा र उनको टोलीको काम अन्तर्राष्ट्रिय रूपमा उदाहरणीय मानिएको छ। नेपाली डाक्टर विश्वमै यसरी चिनिनु हामी सबै नेपालीहरूको लागि गौरब र प्रेरणा हो।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal