14:41:15 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

वैकल्पिक राजनीतिः नयाँ अनुहार कि पुरानै सत्ता संस्कृतिको पुनरावृत्ति

नेपालको समसामयिक राजनीतिमा फेरि एकपटक “वैकल्पिक राजनीति” को अर्थ र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको नारा बोकेर उदाएका शक्तिहरू आफैँ पुरानै सत्ता संस्कृतिको घेराभित्र प्रवेश गर्दै छन् कि भन्ने आशंका पछिल्ला घटनाक्रमले बलियो बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग जोडिएको मुद्दा फिर्ता भएपछि देखिएका राजनीतिक गतिविधिहरूले वैकल्पिक राजनीतिप्रतिको जनअपेक्षालाई झस्काउन थालेको छ। नागरिक हरुकाे दृष्टिमा रबि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता हुनु सामान्य कानुनी प्रक्रिया मात्र होइन, राजनीतिक समझदारी र लेनदेनको संकेत हो। केपी शर्मा ओलीलाई पक्राउ नगर्ने सर्तमा मुद्दा फिर्ता गरिएको भन्ने चर्चा राजनीतिक वृत्तमा व्यापक छ। यस्ता आरोपहरू सत्य हुन् वा होइनन् भन्ने कुरा अनुसन्धान र समयले पुष्टि गर्ला, तर यति भने स्पष्ट छ यसले वैकल्पिक राजनीतिका मसिया हु भन्नेकाे नैतिक धरातललाई कमजोर पारिदिएकाे छ।


यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम बारम्बार जोडिन थालेको छ। बालेन साहलाई प्रधानमन्त्रीको सपना देखाएर राजनीतिक रूपमा प्रयोग गरिएको आरोप सतहमा आएको छ। स्वतन्त्रको नाममा अपार लोकप्रियता कमाएका बालेन साह स्थापित दलहरूका लागि मात्र होइन, वैकल्पिक राजनीतिका नाममा उदाएका नयाँ शक्तिहरूका लागि पनि चुनौती बनेका छन्। स्वतन्त्र मत बालेनतर्फ केन्द्रित हुने डरले नै उनीमाथि विभिन्न राजनीतिक रणनीति प्रयोग गरिएको विश्लेषकहरूको भनाइ छ। रवि लामिछानेको मुद्दा फिर्ता लिनु भनेको बालेनलाई प्रधानमन्त्रीको घांस मात्रै हाल्नु हाे। मुद्दा फिर्ता भएसँगै रबि लामिछाने आफैँ प्रधानमन्त्रीको दावेदारका रूपमा प्रस्तुत हुनु संयोग मात्र हो कि पहिल्यै तय गरिएको योजनाको हिस्सा यो प्रश्न अझै अनुत्तरित छ।

वैकल्पिक राजनीतिका नेताहरू पनि सत्ता प्राप्तिलाई पहिलो लक्ष्य बनाउँदै नैतिकता, पारदर्शिता र सिद्धान्तलाई दोस्रो स्थानमा राख्न थाले भने उनीहरू र पुराना दलबीचको भिन्नता के रहन्छ? बालेन साहको अप्रत्याशित लोकप्रियताले राजनीतिक वृत्तमा गहिरो असहजता पैदा गरेको यथार्थ लुकाउन सकिँदैन। स्थापित दलहरू मात्र होइन, नवप्रवेशी राजनीतिक शक्तिहरू पनि उनको प्रभावबाट सशंकित देखिन्छन्। पछिल्ला घटनाक्रमले त्यो असहजता अब रणनीतिक नियन्त्रण र व्यवस्थापनतर्फ उन्मुख भएको संकेत दिन्छ। अर्थात् स्वतन्त्र राजनीतिक उभारलाई आफ्नो अनुकूल मोड्ने प्रयास भइरहेको छ।


यति मात्रै होइन, कुलमान घिसिङसँग जोडिएका विवाद, धरानका मेयर हर्क साम्पाङको बढ्दो राजनीतिक प्रभाव, र गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेससँग सम्भावित सहकार्य वा बिलयको चर्चा यी सबैले आगामी सत्ता राजनीति झनै जटिल र बहुआयामिक बन्दै जाने स्पष्ट संकेत गर्छन्। वैकल्पिक राजनीतिका नाममा देखिएका शक्ति केन्द्रहरू अन्ततः पुरानै दलहरूसँग मिल्ने वा उनीहरूकै संरचनामा विलय हुने हो कि भन्ने प्रश्न पनि यहीँबाट उठेको हो।


सबैभन्दा चिन्ताजनक पक्ष के हो भने, परिवर्तनको नारा बोकेर आएका पात्रहरू नै क्रमशः पुरानै सत्ताको भाषा, शैली र सौदाबाजीमा अभ्यस्त हुँदै जानु। जनताले खोजेको परिवर्तन अनुहारमा होइन, सोच, व्यवहार र निर्णय प्रक्रियामा हो। यदि नयाँ भनिएका शक्तिहरूले पनि सत्ता प्राप्तिका लागि उही सम्झौता, उही मौनता र उही राजनीतिक सौदाबाजी अपनाए भने वैकल्पिक राजनीतिप्रतिको विश्वास टिक्न सक्दैन।


राजनीतिमा अनुहार नयाँ हुनु मात्र पर्याप्त हुँदैन। सोच नयाँ हुनुपर्छ, अभ्यास नयाँ हुनुपर्छ, र जनताप्रति जवाफदेहिता अझै कडा हुनुपर्छ। नत्र “नयाँ शक्ति”, “वैकल्पिक राजनीति” जस्ता शब्दहरू केवल पुरानै खेलका लागि टाँसिएका नयाँ पोस्टरमा सीमित हुने खतरा रहिरहन्छ। यदि यही क्रम जारी रह्यो भने, वैकल्पिक राजनीतिप्रति नागरिकले राखेको आशा निराशामा बदलिन धेरै समय लाग्ने छैन, र त्यसको जिम्मेवारी नयाँ भनिएका शक्तिहरूले नै लिनुपर्नेछ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal