13:47:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

शहीदको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनमा नयाँ ऊर्जा पैदा गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

काठमाडौँमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले २०५६ सालमा गोरखामा दुवै नेताले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि महत्वपूर्ण दिन भएको बताए।

उनले पार्टीको पोलिटब्युरो तहको उच्च नेतृत्वबाट भएको उक्त सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पंक्तिमा आक्रोश तथा नयाँ ऊर्जा पैदा गरेको दाबी गरे।

“२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो। पार्टीको पोलिटब्युरो तहको सबैभन्दा उच्च नेतृत्व पंक्तिबाट भएको त्यो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पंक्तिमा आक्रोश र ऊर्जा पैदा गर्‍यो तथा जनयुद्धलाई नयाँ उचाइमा पुर्‍यायो,” प्रचण्डले भने।

उनले सुरेश वाग्लेको राजनीतिक निष्ठा, आदर्श र योगदान उच्च रहेको उल्लेख गर्दै उनको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गरेको बताए।

प्रचण्डले जनमुक्ति सेनाका कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।

उनका अनुसार आन्दोलन र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिमाथि अहिले पनि प्रतिक्रियावादी शक्तिहरूबाट चुनौती सिर्जना गर्ने प्रयास भइरहेको छ।

यस्तो अवस्थामा शहीदहरूको सपना, योगदान र बलिदानलाई आत्मसात् गर्दै उपलब्धिको रक्षाका लागि दृढतापूर्वक अघि बढ्नु आवश्यक रहेको उनले बताए।

“प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,” प्रचण्डले भने।

उनले शहीदहरूको योगदानलाई वास्तविक सम्मान दिन उनीहरूले देखाएको आदर्श र राजनीतिक उद्देश्यलाई आत्मसात् गर्दै प्राप्त उपलब्धिको संरक्षण र संस्थागत विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal