
काठमाडौं। सामाजिक सुरक्षा कोष मा योगदानकर्ताले बुझाएको कुल रकम १ खर्ब २ अर्ब रुपैयाँ नाघेको छ। कोषका अनुसार फागुन १० गतेसम्म १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको हो।
विसं २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको औपचारिक सुरुवात गरिएको थियो भने योगदान संकलन २०७६ साउन १ गतेदेखि सुरु भएको हो। हाल औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिन्छ।
यसमध्ये ११ प्रतिशत श्रमिकले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने व्यवस्था छ। चाहने योगदानकर्ताले अतिरिक्त रकम पनि स्वेच्छिक रूपमा थप्न सक्छन्। मासिक योगदान प्रत्येक महिनाको १५ गतेभित्र बुझाइसक्नुपर्ने प्रावधान छ।
कोषमा जम्मा हुने रकम निरन्तर बढिरहेको जनाउँदै कोषका प्रवक्ता कृष्ण अधिकारीले संकलित रकम सुरक्षित र व्यवस्थित रूपमा लगानी गरिएको बताए। उनका अनुसार सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चर लगायतका क्षेत्रमा लगानी गरिएको छ। साथै योगदानकर्तालाई सापटीका रूपमा पनि रकम प्रवाह भइरहेको छ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार समूहमा विभाजन गरेको छ। कोषमा आबद्ध भएकाले औषधोपचार तथा स्वास्थ्य, मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट लाभ लिन सक्छन्।
हाल कोषमा आबद्ध योगदानकर्ताको संख्या २८ लाख २२ हजार ३३३ पुगेको छ भने सूचीकृत रोजगारदाता २३ हजार ८४ रहेका छन्। कुल योगदानकर्तामध्ये झन्डै ६ लाख ७९ हजार औपचारिक क्षेत्रका श्रमिक छन् भने करिब २२ लाख जना वैदेशिक रोजगारीमा रहेका छन्।
अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेकाहरूको सहभागिता भने अझै कम देखिएको छ। कोषको रकम र योगदानकर्ताको संख्या बढ्दै जाँदा सामाजिक सुरक्षाको दायरा विस्तार हुँदै गएको संकेत देखिएको छ।