
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी र दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।
फागुन २१ काे लागि घाेषित निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रहने प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएको छ।
त्यसैगरी, जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुनेछन।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने विषयमा छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा सहभागी हुने भएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता हुने छ।
सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ।
