
रामेछाप, सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मुगिखोला युवा क्लब मन्थलीले उचालेको छ।
बेष्ट अफ फाइभ प्रणालीमा खेलाइएको फाइनल खेलमा मुगिखोला युवा क्लबले आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई ३–२ को सेटअनुपातमा पराजित गर्दै विजेताको उपाधि हात पारेको हो।
विजेता टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टिमले १ लाख रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्रसहित सन्तोष मानेको छ।
त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा जीएनइबिएस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो। माकादुमले ५० हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने चौथो स्थानमा रहेका बेथान युवा समाजले २५ हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।
व्यक्तिगत विधातर्फ जीएनइबिएसका रोशन मगर उत्कृष्ट सर्वर, आयोजक टिमका देबेन्द्र परिवार बेष्ट सेटर, मुगिखोला युवा क्लबका शुशिल खड्का बेष्ट स्पाइकर, सनुज चौधरी बेष्ट ब्लकर, र आयोजक टिमका राजन दर्लामी बेष्ट डिफेन्डर घोषित भए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी का रूपमा राष्ट्रिय खेलाडीसमेत रहेका मुगिखोला युवा क्लबका दुर्गाबहादुर खड्का चयन भए।
यस प्रतियोगिताले गाउँस्तरमै खेलकुदको विकास र युवा सहभागिता बढाउने सन्देश दिएको आयोजकले जनाएका छन्।