14:28:54 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

महाराजगञ्ज जेनजी घटनामा संलग्न ४ जना नयाँ अभियुक्त पुर्पक्षका लागि थुनामा


काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले महाराजगञ्जमा जेनजी प्रदर्शनका क्रममा प्रहरी जवान उत्तम थापाको हत्या प्रकरणमा संलग्न ठहर गरिएका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आइतबार गोर्खाका २२ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, पर्साका २० वर्षीय युनिक श्रेष्ठ र सिन्धुलीका १९ वर्षीय विनोद कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

भदौ २३ र २४ गते महाराजगञ्ज क्षेत्रमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा असई मिलन राय र प्रहरी जवान उत्तम थापाको ज्यान गएको थियो।

यस घटनामा पहिले पक्राउ परेका अभियुक्तहरू, युवराज क्याप्छाकी, सोनाम तामाङ उर्फ बुद्धिलाल थिङ, होमप्रसाद पौडेल र टिकाराम विकलाई समेत यसअघि नै अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको थियो।

प्रहरी अनुसन्धान अनुसार काभ्रे रोशीका युवराज क्याप्छाकी र मकवानपुर थाहा–७ का सोनाम तामाङ (बुद्धिलाल थिङ)ले प्रहरी जवान उत्तम थापालाई कुटपिट गरी हत्या गरेका थिए।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी–१० का २८ वर्षीय टिकाराम विकले असई मिलन रायको हत्या गरेको निष्कर्ष अनुसन्धानमा खुलेपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूमाथि मुद्दा दर्ता गरेको थियो।

नयाँ पक्राउ परेका ४ जनालाई पनि अदालतले समान प्रकृतिको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उक्त मुद्दा अब दुवै प्रहरीको हत्या प्रकरणसँग जोडिएर अघि बढ्नेछ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal